
दमौली, १९ असोज । तनहुँमा दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।
चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । ब्यास नगरपालिका–५ कालीभञ्जन गणमा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए । आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।
भेटेरीनरी अस्पतालको सेवा बन्द
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले आजदेखि सेवा बन्द गरेको छ । कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयले सेवा बन्द गरेको हो । केही दिनदेखि ज्वरो आएपछि शनिबार स्वाब परीक्षण गर्दा कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सेवा बन्द गरिएको कार्यालयका प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए । उनका अनुसार कार्यालयका कर्मचारीको स्वाब परीक्षण गरिने र रिपोर्ट आएपछि मात्रै कार्यालय सञ्चालनमा आउने राससले लेखेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




