नेपालमा कोरोना संक्रमितको संख्या १ लाख कट्यो

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ असोज । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख कटेको छ । शुक्रबार थप २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १३ हजार २ सय ७९ परीक्षणमा थप २ हजार ५९ संक्रमित भएको जानकारी दिएका हुन् । तीमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा १ हजार ६ सय ८० जनाका निको भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ । निको हुने ७२.५ प्रतिशत रहेको छ ।

नेपालमा बिहीबारमात्र ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकै दिनमा सबैभन्दा बढी संक्रमित हुने सो उच्च संख्या हो ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ठिक ६ सय पुगेको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले कोरोना जोखिमका कारण यसपालिको दशै जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, त्यही बसेर मनाउन आग्रह गरेको छ ।

साथै, कोरोना रिपोर्ट नआन्जेलसम्म क्वारेन्टिनमा अनिवार्य बस्न सचेत गराएको छ । रिपोर्ट नआउँदै आफ्नो काम सुचारु भइरहेको पाइएको भन्दै त्यसो नगर्न मन्त्रालयले सचेत गराएको हो ।

कोरोना संक्रमित आइसोलेसन बस्नुको सट्टा बाहिर निस्केर डुलेको घटना सार्वजनिक भएको भन्दै मन्त्रालयले घरपरिवार छिमेकीले समेत अनुगमन गरी पत्ता लगाई खबर गरिदिन आग्रह गरेको छ । त्यस्तो पाइए कडा कारबाही हुने चेतावनी दिइएको छ ।

नेपालमा सर्वप्रथम गत वर्षको माघ ९ गते पहिलो संक्रमित भेटिएका हुन् ।