गण्डकीमा एकै पटक झण्डै १ सय जनामा संक्रमण पुष्टि

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ असोज । गण्डकी प्रदेशमा एकै पटक झण्डै १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेशका थप ९७ जनामा संक्रमण पुष्टि भएको जनाएका हुन् ।

जसअनुसार गण्डकी मेडिकल कलेजमा र चरक मेमोरियल अस्पताल पोखरामा कोरोना परीक्षणका लागि नमुना संकलन भएकोमा त्यहाँ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ जना गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी हुन् । बाँकी ७ जना चरक मेमोरियलमा उपचाररत हुन् । अन्य सबै जना कन्ट्याक्ट ट्रेसिङ आधारमा पहिचान भएका हुन् ।

पोखरामा मात्रै थप ३० जना संक्रमित भए । गोरखाको पालुङटारका ७ जना छन् ।

नवलपुरको कावासोती र हुप्सेकोटमा गरी ६ जना, लमजुङको दूधपोखरी, सुन्दरपुरका गरी ३ जना, बागलुङको काठेखोला, तमानखोला र बागलुङ नगरपालिकाका गरी ५१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

गण्डकीमा पछिल्लो समय कोरोना संक्रमित दर बढ्दो छ । संक्रमितको कुल संख्या ५ हजार २ सय ८४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।