३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ असाेज । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।

नेपालमा कोरोना भाइसबाट संक्रमण हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घन्टामा ३ हजार ७४९ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमण हुनेहरु १ लाख २१ हजार ७४५ पुगेको बताए ।

डा.गौतमले हालसम्म कोरोनाका सक्रिय केसहरु ३६ हजार ५३३ रहेको बताएका छन् । उनका अनुसार बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका ३ हजार ५६४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसहित हालसम्म निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १९ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसहित हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।