गण्डकीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित



पोखरा, १० कात्तिक । दसैंको मुखमा आएर गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ र नवलपुरका २ जना हुन् । उनीहरुमध्ये ३ पुरुष र १ महिला छन् ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले सोमबार विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

तीमध्ये पोखरा ५ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा गएराति ९ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

यस्तै, पोखरा १५ की ७८ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा गएराति ११ बजे मृत्यु भएको छ ।

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत गैँडाकोट नगरपालिकाका वडा ५ का ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने कावासोती २ का ७७ वर्षीय पुरुषको मध्यविन्दु अस्पतालमा मृत्यु भएको छ ।

यो सहित प्रदेशमा कोरोना संक्रमितमध्ये हालसम्म ६७ जनाको ज्यान गइसकेको छ । यस्तै हालसम्म संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको छ । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि भएको छ ।