कोरोनाबाट गण्डकीमा मृत्यु हुने १०० पुगे

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित



पोखरा, २१ कात्तिक । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुक्रबार ठिक १ सय पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षीय पुरुषको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । गत कात्तिक ८ मा संक्रमण पुष्टि भएका ती पुरुषलाई निमोनिया समेत समस्या थियो ।

यस्तै, पोखरा १० का ५७ वर्षीय पुरुषको गएराति सोही अस्पतालमा मृत्यु भएको छ । गत कात्तिक २ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया र उच्च रक्तचाप समस्या थियो ।

पोखराकै ३० दिने बालकले पनि कोरोना सिकारसँगै ज्यान गुमाएका छन् । श्वासप्रश्वास र निमोनियाको समस्या रहेका ती शिशुको शुक्रबार मध्याह् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

उता, पोखरा १७ का ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई गत कात्तिक १४ मा कोरोना पुष्टि भएको हो ।