धौलागिरि अस्पतालमा पनि पिसीआर परीक्षण हुने

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित



बागलुङ, २२ कात्तिक । गण्डकी प्रदेशअन्तर्गत अब धौलागिरी अस्पतालमा पनि कोरोनाको नमुना जाँच हुने भएको छ । सरकारको निर्णयको ४ महिनापछि मात्र पिसीआर परीक्षण प्रयोगशाला स्थापना हुने भएको हो ।

सरकारले असार १२ मा पिसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसीआर मेसिन खरिद गर्न सकिएको थिएन । दुई महिनाअघि मात्र पिसीआर मेसिन खरिद गर्नका लागि सरकारले अस्पताललाई १ करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप ४० लाख बजेट विनियोजन भएपछि अस्पतालले पिसीआर मेसिन खरिद तथा प्रयोगशाला व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।

बजेट प्राप्त भएकाले अब पिसीआर मेसिन खरिदका लागि बायोकेमिकल इञ्जिनीयरबाट लागत इस्टिमेट तयार गरेर खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गोतमले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा नौलो र पहिलोपटक भएकाले यस विषयमा बुझ्न केही समय लागेको जानकारी दिए ।

धौलागिरी अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराल पोखरास्थित पिसीआर परीक्षण प्रयोगशालामा गएका कारण प्रयोगशाला सञ्चालन गर्न कठिनाइ हुने डा. पोखरेलको भनाइ छ ।

मेसिन खरिद र प्रयोगशालाको निर्माण भइसकेपछि त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सरकारले व्यवस्थापन गर्नेमा अस्पताल आशावादी रहेको उनले बताए ।

अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतमा संकलन गरिएको नमुना धौलागिरिमै परीक्षण हुनेछ ।