संक्रमितको उपचारमा स्वास्थ्यकर्मी भन्छन्, उपचार गर्दै जाँदा आँट बढ्यो

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न स्वास्थ्यकर्मीले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ सम्बन्धी मापदण्ड र तालीमले सङ्क्रमितलाई उपचारमा सघाएको बताउँछन् । बिरामीलाई उपचार गर्दै जाँदा सिकेको अनुभव उपचार गर्न दक्षता हासिल आफूहरुले गरेको उनीहरुको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा सागरराज भण्डारीले शुरुशुरुमा बिरामीको श्ययासम्म जान डराएकोमा पछि श्ययासम्म पुगेर बिरामीलाई मुसार्ने छुने गरेको बताए।

‘शुरुमा के कसरी उपचार गर्ने भन्नेमा थियो । पछि विश्व स्वास्थ्य सङ्गठन मापदण्ड र तालीम लिएपछि सिक्दै ग¥यौँ र उपचार गर्न पनि अभ्यस्त भयौं, उनले भने, ‘त्यसपछि त हामीले अन्य बिरामीलाई जस्तै सङ्क्रमितका बिरामीलाई उपचार गर्न थाल्यौं ।’

उनले नेपालमा दोस्रो सङ्क्रमित देखिएपछि आफूहरु योजना बनाएर बिरामीको उपचार गरेको अनुभव सुनाए । ‘पहिलो सङ्क्रमितलाई हामीले उपचार गर्दा खासै योजना बनाए थिएनौं’ उनले भने, ‘जब दोस्रो सङ्क्रमित फेला परे अनि हामीले उपचारको लागि योजना बनाएको थियौं ।’

सरकार नै सङ्क्रमितको दैनिक बढ्न थालेपछि उपचार गर्ने अस्पताल भनेर छुट्टाएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा शुरुमा सङ्क्रमितको उपचार गरिएकोे तर पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालले पनि सङ्क्रमितको उपचार गर्न थालियो ।

यस्तै सशस्त्र प्रहरी अस्पतालका डा प्रवीन नेपालले अस्तापलका स्वास्थ्यकर्मी शुरुशुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर मानेको बताए । आफूले सरुवा रोगका अन्य बिरामीलाई पहिले उपचार गरे पनि कोभिड–१९ का बिरामीलाई भने उपचार गर्दा अलिअलि डर हुने गरेको बताए । पछि स्रोत साधन उपलब्धता र तालीम लिएपछि सङ्क्रमितको उपचार गर्न कोही स्वास्थ्यकर्मी नहिचकिचाएको उनको भनाइ छ ।

उनले व्यक्तिगत सुरक्षा कवच लगाएर कोभिड–१९ को सङ्क्रमण नसर्ने भएपछि स्वास्थ्यकर्मीले जति पनि सङ्क्रमितको उपचार गर्नसक्ने बताए । पहिलेपहिले सङ्क्रमित पनि उपचार गर्न आउँदा आत्तिने, डराउने गरेका थिए तर अहिले त्यस्तो समस्या नभएको उनको भनाइ छ । अस्पतालका डा नेपालले पहिले दिनमा एक पटकमात्र भेट्ने बिरामीलाई अहिले दैनिक चार–पाँच पटक भेट्ने गरेको बताए ।

अस्पतालले तीन सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो । कोभिड–१९ का सङ्क्रमितलाई हेर्ने, क्यारेन्टिनमा बसेका र अरु सामान्य बिरामीलाई हेर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको थियो । अहिले बलम्बुमा १०९ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६० जनालाई अक्सिजन र छ जना भेन्टिलेटरमा छन् ।

कोभिड–१९ अस्पताल वीरअस्पतालको कोभिड–१९ को सघन उपचार कक्षमा कार्यरत नर्स मुना पोखरेललाई पनि शुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर लाग्यो । न्यूरो वार्डमा काम गरिरहेकी पोखरेललाई कोभिड–१९ वार्डमा सरुवा गरेपछि सङ्क्रमितको कसरी काम गर्ने होला भनेर डर लागेको थियो । ‘सङ्क्रमण फैलिरहेको थियो । त्यही बेला मलाई अस्पतालले कोभिड–१९ वार्डमा काम गर्न पठाइयो । अस्पतालले भने पनि जानै पर्‍यो,’ उनले भनिन्, ‘म पनि अब सङ्क्रमित हुन्छु । अब घर जान पाइन्न भनेर डर लागेको तर पछि बिरामीको सेवा गर्न पछि पर्न हुन्न भन्ने आफूमा आँट आयो । अनि कोभिड–१९ को आइसियु सङ्क्रमितको उपचार गर्न थाले ।’
नेपालमा अहिलेसम्म एक लाख ९७ हजार २४ सङ्क्रमित भइसकेका छन् । यस्तै एक लाख ५९ हजार ७२४ निको र एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएको राससले लेखेकाे छ ।