निःशुल्क परीक्षण र उपचार सरकारले गर्ने : मन्त्री ढकाल

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काेराेनाभाइरस संक्रमणकाे निःशुल्क परीक्षण र उपचार गर्ने दायित्व सरकारकाे भएकाे बताएका छन् ।

मन्त्री ढकालले सरकारले जिम्मेवारी बहन गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने बताएका हुन् । उनले भने, सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क हुन्छ, मन्त्रिपरिषद्काे सोमबारेको बैठकले यही निर्णय गरेकाे हाे ।

मन्त्री ढकालले आज सञ्चारमाध्यमकाे प्रश्नकाे जवाफ दिदैं सरकारले विगतमा पनि उपचार निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट गरे । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकाेमा सर्वोच्च अदालतको आदेश र नागरिक समाजकाे सल्लाहपछि सरकारले नयाँ निर्णय गरेको बताए ।

देशभर अहिलेसम्म १५ लाख बढीको पिसिआर परीक्षण गरीएकाे छ । दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड–१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकाेमा हाल नेपालमै सरकारी र निजी गरी ७३ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेकाे बताए । सरकारले स्वइच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको छ । प्रयोगशालाहरूबाट दैनिक १५ हजारको सङ्ख्यामा परीक्षण पनि भइरहेको उनले बताए ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले दुई वटा कल सेन्टरबाट सेवा दिइरहेकाे मन्त्री ढकालकाे भनाइ थियाे । कोभिड–१९ को रोकथाम र उपचारका लागि मन्त्रालयले करिव दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटरकाे उपलव्धताकाे बारेमा जानकारी दिए ।