सामग्री अभावले रोकियो गौशाला–चाबहिल सडक निर्माण

-


     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


काठमाडौं, २८ कात्तिक । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो ।

निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधिसम्मिलित बैठकले अर्काे सूचना नभएसम्मका लागि ती उद्योगमा रोक लगाएको थियो । ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो ।