अन्धकारका टुकी ! जसले कोरोनाविरुद्धको खोप पत्ता लगाए

-


     कृष्णराज खनाल    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


बोस्टन, अमेरिका-५ मंसिर । यी व्यक्ति हुन् प्रा. डा. युगोर साहिन । टर्कीमा जन्मेर करिब पाँच दशकदेखि जर्मनीमा बसोबास गर्दै आएका यी व्यक्तिको व्यक्तित्व जति महान् छ, त्यति नै यिनी उदार र सहृदयी पनि छन् ।

गत हप्तादेखि एकाएक चर्चामा छाएका र आएका डा.साहिन र उनकी पत्नी डा. ओजलेम तुरेसीकै अथक प्रयासले कोभिड -१९ को खोप विकसित भएको हो । उनीहरुले उत्पादन गरेको कोभिड विरुद्धको खोप करिब ४३ हजार व्यक्तिमा गरिएको परीक्षणमा ९५ प्रतिशत सफल भएको जनाइएकाे छ ।

डा. साहिन र उनकी पत्नी ओजलेम जर्मन वायोटेक्नोलजी कम्पनी ”वायोन टेक”का संस्थापक हुन् र हाल साहिन सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् भने उनकी पत्नी डा. ओजलेम प्रमुख मेडिकल अधिकृत ।

यिनीहरु चर्चामा आएको कारण पनि दुनियालाई तहसनहस पारेको कोभिड विरुद्धको खोप पत्ता लगाएकोले हो । दुई वर्ष अघि वोस्टनस्थित औषधि कम्पनी फाइजरसँग सहकार्य गरेको ”वायोन टेक”ले उत्पादन गरेको औषधि सन् २०२१ को जाडोयाम अघि सर्वसाधारणसमक्ष पुग्ने जनाएको छ ।

उनको जीवन खासगरी क्यान्सर रोग कसरी निको पार्ने भन्नेमा केन्द्रित थियो । यी दुवैलाई अन्धकारमा एउटा टुकी देखाउने श्रेय जान्छ । साहिनको जीवन बडो वेजोड छ र संसारले प्रेरणा लिनसक्छ । सन् १९९६ मा नोवेल पुरस्कार समेत प्राप्त गरेका साहिन जर्मनीका ९३ जना धनाढ्य व्यक्तिको सूचीमा परेका छन् ।

जर्मनीको मेन्ज विश्वविद्यालयका पूर्व प्राध्यापक साहिन सरल र मिजासिलो स्वभावका छन् । उनलाई उनका समकालीनहरु ‘सिद्धान्तनिष्ठ’ र ‘प्रेरणा लिन योग्य’ व्यक्ति भनेर भन्छन् । अचम्म लाग्दो कुरा त के छ भने यो जोडीसँग अहिलेसम्म सवारीचालक अनुमति पत्र छैन ।

साइनसँग २० वर्ष पुरानो माउन्टेन वाइक छ । सोही साइकल चढेर उनी घर र अफिस गर्छन् । उनी साधारणतया जिनको पाइन्ट लगाउँछन् । पछाडि झोला भिर्छन् । झोलामा आफ्ना अत्यावश्यक कुरा राखेर अफिस जान्छन् । उनीसँग अहिलेसम्म पनि आफ्नो व्यक्तिगत इमेल ठेगाना छैन अर्थात् उनले विश्वविद्यालयको इमेल प्रयोग गरिरहेका छन् ।

विज्ञान विषयक जर्नल पढ्न रुचाउने साइनको औषधि क्षेत्रको यो विहंगम उपलब्धिले आप्रवासीहरुप्रति पनि जर्मनहरु नतमस्तक भएका छन् । उनीहरुले उत्पादन गरेको यो खोपले चाँडै शतप्रतिशत सफलता प्राप्त गरोस् र त्रासमा रहेका अरवौँ मानिसले लाभ लिन सकुन् शुभकामना ।( (स्राेत : मनाेजयुएसएडटकम )