पोखरामा एकै दिन ८ संक्रमितको मृत्यु

-


     सफल आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


पोखरा, ५ मंसिर । पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि एकै दिनमा यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको थिएन । यो संख्या एकै दिनमा मृत्यु हुने अहिलेसम्मकै उच्च हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष हुन् । तीमध्ये २९ वर्षीय पुरुष बाहेक अन्य सबै ५० वर्षमाथिका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचारक्रममा मृत्यु भएको हो ।

गण्डकी मेडिकल कलेजमा मृत्यु हुनेमा पोखरा–२७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुष छन् । गत कात्तिक २९ मा कोरोना संक्रमण पुष्टि भएका उनको उपचारक्रममा गएराति मृत्यु भएको हो । उनका निमोनिया र उच्च रक्तचाप समस्या समेत थियो ।

यस्तै, पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । निमोनिया, उच्च रक्तचाप र मिर्र्गौला रोगी उनलाई कात्तिक २३ मा कोभिड–१९ पुष्टि भएको जनाइएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ का ५१ वर्षीय पुरुषको पनि शुक्रबार बिहान सोही अस्पतालमा निधन भयो । उनलाई २ दिनअघि संक्रमण देखिएको हो ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु हुनेहरुमा पोखरा ९ का ६८ वर्षीय पुरुष छन् । अघिल्लो दिन कोभिड–१९ देखिएका उनमा निमोनिया र मधुमेह समस्या थियो । उपचारक्रममा उनको बिहीबार राति ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पोखरा २१ का ७५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । अघिल्लो दिन संक्रमण पुष्टि भएका उनमा निमोनिया समेत देखिएको थियो ।

पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्याह् मृत्यु भयो । उनलाई शुक्रबार नै कोभिड–१९ पुष्टि भएको थियो । उनलाई निमोनिया देखिएको बताइएको छ ।

यसैगरी, पोखरा १३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई शुक्रबार नै कोभिड–१९ पुष्टि भएको हो । उनी निमोनिया, मिर्गौला, मधुमेहका शिकार थिए ।

उता, तनहुँको भीमाद नगरपालिका वडा ५ का ६६ वर्षीय पुरुषको शुक्रबार दिउँसो सोही अस्पतालमा मृत्यु भएको छ । गत कात्तिक २८ मा संक्रमण पुष्टि भएको उनमा निमोनिय, उच्च रक्तचाप लगायत समस्या थियो । यो सहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ ।

हालसम्म गण्डकीमा संक्रमित हुनेको संख्या १० हजार ८ सय २७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशमा १ सय ३९ नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये कास्कीका मात्रै १ सय जना छन् । कुल संक्रमितमध्ये ६ हजार ७४ निको भएका छन् । पछिल्लो समय १ सय ३६ निको भएर घर फर्किएको बताइएको छ ।