पचास शय्याको अस्पतालमा एम्बुलेन्स छैन, बिरामी बोक्न डोको प्रयाेग

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



जाजरकोट, ८ मङ्सिर । पचास शय्याको अस्पताल रहेको जाजरकाेट सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजाने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको हो । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ ।

दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए । एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन । जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको नागरिक बताउँछन् ।

एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ । रु एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा सुनिल पुनले जानकारी दिए । यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरे पनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताइन ।

अध्यक्ष बस्नेतले एम्वुलेन्सको खाँचो एकदमै भएको बताईन । जिल्लामा एम्वुलेन्स नै त नभएको होईन, अस्पतालको म अध्यक्ष भएर आउनुभन्दा अघिका अध्यक्ष महेन्द्र शाहको कार्यकाल अघिबाटै अस्पतालको एम्वुलेन्स बिग्रेको बताईन । पूरानोलाई मर्मत गरेर चालउन अब नसकिने भएको छ किनभने त्यो कामै नलाग्ने भएको छ, बस्नेतले भनिन ।

आफुहरुसंग वजेट पनि नभएको र प्रदेश सरकारबाट एम्वुलेन्सका लागि वजेट दिन ढिलो भएको कारण अस्पतालसंग एम्वुलेन्स नभएको हाे । अघिल्लो वर्ष फागुनमा नै प्रदेश सरकारले नयाँ एम्वुलेन्स दिने भने पनि केरोनाको कारण पछि धकेलिएको बताईन । उनले भनिन, कर्णाली सरकार सकारात्मक भएको छ, सायद चाँडै एम्वुलेन्स आउँछ होला । आज म नेपालगञ्जबाट यही कुरा पुनः राख्नका लागि सुर्खेत हिंडेकी छु, अध्यक्ष बस्नेतले बताईन ।