गण्डकीमा कोरोना संक्रमण, छैन नियन्त्रणमा

-



     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ मंसिर । गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै ५ हजार पुगेको छ । तीमध्ये कास्कीमै ३४ सय नाघेका छन् । प्रदेशका कुल संक्रमित ११ हजार ९ सय ६७ जना पुगेकोमा ७ हजार जना निको भएका हुन् । अस्पतालमा बेड अभावमा अधिकांश होम आइसोलेसनमै बस्न बाध्य छन् । प्रदेशमा विभिन्न जिल्लाको तुलनामा कास्कीमै ७० प्रतिशत संक्रमित छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार आइतबारमात्र प्रदेशमा ५१६ पीसीआर परीक्षणमध्ये करिब २० प्रतिशत अर्थात १०५ संक्रमित थपिएसँगै प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार ९ सय ६७ पुगेको हो ।

तीमध्ये ६ हजार ९ सय १० जना निको भएर घर फर्केका छन् भने हालसम्म १ सय ५४ जनाको ज्यान गएको छ । प्रदेशका हाल सक्रिय ४९ सय ३ संक्रमितमध्ये होम आइसोलेसनमै ३९ सय ७५ जना बसेका छन् ।

प्रदेशभर विभिन्न १९ अस्पतालमा आईसीयू बेड २२३ र भेन्टिलेटर सुविधा ६२ वटामात्र रहेको छ । कोरोना उपचारकै लागि भनी पोखराका ६ अस्पताललाई तोकिएकोमा बिरामीको दिनानुदिन चापले बेड पाउनै मुस्किल हुँदा बिरामी अस्पताल चहार्दा चहार्दै बाटोमै मृत्यु हुने घटना पनि दोहोरिने गरेको पाइयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पतालमात्र कोभिड–१९ का बिरामीको उपचार हुन्छ । कोभिड–१९ कै बिरामीको उपचार गर्न भनी प्रदेश सरकारले तोकेको लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा भने प्राविधिक अभावमा आईसीयू र भेन्टिलेटर संचालनमा आइसकेको छैन ।

घरमै बस्न बाध्य बिरामीको अन्तिम अवस्था हुँदा अस्पताल चहार्दा चहार्दै मृत्युवरण गर्नुपर्ने अवस्थाले प्रदेशमा उपचार व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्न थालेको छ । प्रदेश सरकारले प्रभावकारी उपचार व्यवस्था गर्नबाट चुकेको छ ।

प्रदेशमा कोरोनाबाट ज्यान गुमाएका १५४ जनामध्ये कास्कीका मात्रै २८ महिला र ५२ पुरुष गरी ८० जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । मनाङ र मुस्ताङमा हालसम्म मृत्युको घटना छैन ।

नागरिकको स्वास्थ्यमाथि नै बेवास्ता हुन थालेपछि नागरिकस्तरबाट भेन्टिलेटर खरिद अभियान थालिएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका विश्वशंकर पालिखेको अध्यक्षतामा नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन गरी सो अभियान सुरु गरिएको हो ।

संस्था गठन भएसँगै हाल पोखरामा १ भेन्टिलेटर र ३ हाई फ्लो नजल क्यानुल (अक्सिजन प्रवाह गर्ने उपकरण) तयारी अवस्थामा राखिएको पालिखेले बताए । २० भेन्टिलेटर तथा क्यानुल उपलब्ध गराउने लक्ष्यका साथ सहयोग संकलन अभियानमा जुटेको उनले बताए ।


सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजसँगको सहकार्यमा भेन्टिलेटर तथा क्यानुल जगेडा राख्ने र जुन अस्पतालमा बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराउने उनले बताए । त्यसका लागि प्राविधिकलाई तालिम दिइनेछ । सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत १ हजार, सामुदायिकमा २ हजार र निजी अस्पतालमा ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसै गरी सरकारी अस्पातालमा दैनिक क्यानुल प्रयोग गरेवापत ३ सय, सामुदायिक ५ सय र निजी अस्पतालमा ७ सय निर्धारण गरिएको संस्थाका सचिव रामकृष्ण ज्ञवालीले जनाए ।

उता, मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशवासीको लापरबाही नै कोरोना फैलिनुको मुख्य कारक मान्छन् । उनले नियमित रुपमा मास्क प्रयोग गर्न, सेनिटाइजर लगाउन र आपसमा भौतिक दूरी कायम गर्न अटेर गर्दा सोचेभन्दा बढी संक्रमित रहेको बताए ।

विगतमा संक्रमितको पीसीआर नेगेटिभ आएपछि मात्र घर पठाउने गरेको प्रदेश सरकारले सो निर्णय सच्चाउँदै अबदेखि १४ दिन आइसोलेसन बसेपछि पीसीआर नगरी घर पठाउने जानकारी गराइसकेको छ ।