काेरोना भाइरसविरुद्ध पहिलो खोप फाइजरको,लगाउने पहिलो देश बेलायत

-



     मनाेज अधिकारी    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, १८ मंसिर । कोरोना भाइरसविरुद्ध पहिलो खोपका रुपमा फाइजर कम्पनीको खोपले अनुमति पाएको छ । यो खोप लगाउने पहिलो मुलुक बेलायत बनेको छ ।

बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मनको बायोएनटेक कम्पनीद्धारा संयुक्त रुपमा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई बुधबार अनुमति दिएको हो । यो खोप ९५ प्रतिशत सुरक्षित र प्रभावकारी मानिएको छ ।

बेलायती नियामक संस्था एमएचआरएले आगामी साताबाट प्रयोगमा ल्याउने गरि फाइजरको यो खोपलाई अनुमति दिएको बीबीसीले जनाएको छ । बेलायत कोरोना भाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा सातौं स्थानमा छ । बेलायतमा हालसम्म करिब १६ लाख ६० हजार मानिस कोरोना संक्रमित भएका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ ।

फाइजर र अर्काे अमेरिकी कम्पनी मोडेर्नाले अमेरिकामा पनि आपतकालिन प्रयोगका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) समक्ष अनुमति मागेका छन् । यसमा निर्णय हुन बाँकी छ ।

झण्डै एक वर्षयता विश्वमहामारीको रुप लिएर करोडौं मानिसमा संक्रमण र लाखौंको मृत्यु गराएको कोरोना भाइरसविरुद्ध लड्ने खोपको विकास र प्रयोगको थालनीले विश्वभर आशाको सञ्चार गराएको छ ।

बेलायतले जोखिम समूहलाई प्राथमिकतामा राखेर केही दिनभित्रै खोप लगाउन थाल्ने बताएको छ । यसका लागि ४ करोड डोज खोप फाइजरसँग खरिद गरेको छ । प्रत्येक व्यक्तिलाई तीन हप्ताको अन्तरमा दुईपल्ट लगाउनु पर्ने हुनाले यो खोप दुई करोड मानिसलाई पुग्नेछ ।

फाइजरले अबको एक महिनाभित्र ५ करोड मात्रा खोप उत्पादन गर्नेछ । सन् २०२१ मा एक अर्ब ३० करोड मात्रा खोप उत्पादन र वितरण गरिने लक्ष्य राखेको छ ।

बेलायती स्वास्थ्य सेवाले सबैभन्दा ठूलो खोप कार्यक्रमको ऐतिहासिक तयारीमा आफुहरु रहेको उल्लेख गरेको छ । यही खोप कार्यक्रमका लागि ५० भन्दा बढी अस्पताल र अन्य खोप केन्द्रहरु तयारी हालतमा रहेका छन् ।

एकैपटक धेरै मानिसमा यो खोप लगाएपछि यसले देखाउने प्रतिक्रिया र प्रभावबारे सुरुवाती चरणमा सतर्क र सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाब छ ।

फाइजरले यो खोपलाई अमेरिका, जर्मनी, अर्जेन्टिना, टर्की र दक्षिण अफ्रिकामा ट्रायल गरेको थियो । जसमा दोस्रो खोप लगाएको एक हप्तापछि खोप दिइएकामध्ये ९० प्रतिशतलाई कोरोना संक्रमणबाट सुरक्षा मिलेको थियो ।