जनवरी २० देखि ट्रम्पको एकाउण्ट बन्द गर्ने ट्वीटरको चेतावनी

-



     मनाेज अधिकारी    
     मंसिर २० गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पदबाट हटेलगत्तै उनको ट्वीटर एकाउण्ट बन्द गर्नेबारे सोसल साइट ट्वीटरले सोचिरहेको खुलेको छ । ट्रम्पले लगातार ट्वीटरको निर्देशिका उल्लंघन गरेमा आगामी जनवरी २० देखि उनको एकाउण्ट बन्द गरिने ट्वीटरको प्रवक्ताले चेतावनी दिएको फोब्र्सले जनाएको छ ।

जनवरी २० को मध्यान्हमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनल पदभार ग्रहण गर्नेछन् । त्यसलगत्तै ट्रम्पको हैसियत सर्वसाधारण नागरिक सरह हुनेछ ।

‘अहिलेसम्म ट्रम्पले जतिसुकै नियम र निर्देशिका उल्लंघन गरे पनि राज्य प्रमुखको हैसियतले उनको ट्वीटर एकाउण्ट रोक्न सकिएको छैन,’ ट्वीटरका प्रवक्ताले फोब्र्ससँग भनेका छन्, ‘ट्रम्पले यस्तै रवैया निरन्तर राखे जनवरी २० को मध्यान्हपछि उनको एकाउण्ट बन्द गरिनेछ ।’

उनले पूर्वराष्ट्रपतिहरुले पनि सामान्य नागरिकले जस्तै निर्देशका हुबहु पालना गर्नुपर्ने उल्लेख गरेका छन् । ट्रम्पले केही महिनाअघि अमेरिकाभर चर्किएको प्रदर्शन, कोरोना महामारी र २०२० को निर्वाचनका विषयमा अनगिन्ती गलत सूचना फैलाई हिंसात्मक र धम्कीपूर्ण ट्वीट गरेर सामाजिक सञ्जालको निर्देशिका उल्लंघन गरेको ट्वीटरले जनाएको छ ।

ट्रम्पका यस्ता उल्लंघनकारी सन्देशलाई ट्वीटरले हाल सावधानीको संकेतसहित सम्बन्धित विषयको तथ्यपरक सूचना जोडेर देखाउँदै आएको छ । जसको ट्रम्पले चर्काे आलोचना गर्दै आएका छन् ।

गत जुलाई महिनामा ट्रम्पका छोरा ट्रम्प जुनियरको एकाउण्ट ट्वीटरले १२ घण्टा फ्रिज गरिदिएको थियो । उनले कोभिड १९ र हाइड्रोक्सीक्लोरोक्विन बारेमा गलत दाबी गरि जनमानसमा भ्रम फैलाउन खोजेको ट्वीटरको भनाई थियो ।