फेसबुकविरुद्ध अमेरिकाका ४८ राज्यको तर्फबाट संघीय अदालतमा मुद्दा दायर

-



     मनाेज अधिकारी    
     मंसिर २६ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, २६ मंसिर । फेसबुकको एकाधिकार अन्त्यको माग गर्दै अमेरिकाको संघीय अदालतमा मुद्दा परेको छ । फेसबुकको गलत प्रभुत्वविरुद्ध अमेरिकाका लगभग सबै अर्थात् ४८ राज्यको तर्फबाट संघीय अदालतमा मुद्दा दायर भएको हो ।

फेडरल ट्रेड कमिशनले फेडलर कोर्टमा दायर गरेको मुद्दामा ४८ राज्यका महान्यायाधिवक्ताले हस्ताक्षर गरेका छन् । फेसबुकले डिजिटल बजारमा एकाधिकार जमाएको, आफ्नो प्रभुत्वको व्यापक दुरुपयोग गरेको र प्रतिरोधात्मक व्यवहार गरेको गम्भीर आरोप लगाइएको छ ।


विगत एक दशकदेखि फेसबुकले आफ्नो प्रभुत्व विस्तारसँगै एकाधिकार शक्तिको दुरुपयोग गरि साना प्रतिद्धन्द्धीलाई समाप्त पार्ने काम गरेकाले त्यसको अन्त्य गर्न मुद्दा दायर गरिएको कमिशनले जनाएको छ ।
यसका लागि फेसबुकले इन्स्टाग्राम र ह्वाट्अपलाई आफुबाट अलग गर्नुपर्ने मुद्दाको प्रमुख माग रहेको सिएनएनले जनाएको छ ।

फेसबुकले केही वर्षअघि ती दुवै कम्पनीलाई निकै महंगो मुल्यमा किनेर आफुमा गाभेको थियो । भविष्यमा कुनै कम्पनी किन्नु वा आफुमा गाभ्नु परेमा फेसबुकले फेडरल ट्रेड कमिशनलाई यसको पूर्वसूचना दिनुका साथै अनुमति समेत लिनुपर्ने माग मुद्दामा गरिएको छ ।

‘फेसबुकले आफ्नो एकाधिकार कायम राख्नु भनेको उपभोक्तालाई प्रतिस्पर्धाको अवसरबाट हुने फाइदालाई अस्वीकार गर्नु हो,’ मुद्दामा भनिएको छ,‘हाम्रो उदेश्य फेसबुकको एकाधिकार लाद्ने आचारणमा सुधार ल्याई खुला प्रतिस्पर्धालाई पुर्नस्थापित गराउनु हो । ताकि भविष्यमा नयाँ र स्वतन्त्र प्रतिष्पर्धा फस्टाउन सकोस् ।’