हिमालयन चितुवा आइतबार ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता’ मा भिड्ने

-



     सफल आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ मङ्सिर । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दैछन्। नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ ।

प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजाराैं खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ । अहिले उनी अन्तिम प्रशिक्षणमा व्यस्त रहेका छन् । युवा समाजसेवी रामनारायण घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल आफ्ना बुबाकै विशेष प्रतिक्षणमा व्यस्त रहेका छन् ।

हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आएका छन् । “मेरो प्रशिक्षणमा अविरल कडा मेहनतका साथ प्रशिक्षणमा छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा चुम्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने । उनका अनुसार कम उमेरमा सो प्रतियोगितामा भिड्ने अविरल पहिलो युवा बक्सर हुन् । किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्ने छन् । बक्सर कुमुरा पनि बक्सिङ खेलका अन्तरराष्ट्रिय खेलाडी हुन् ।

अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप अन्तरराष्ट्रिय ख्याति कमाउने छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा रहँदै आएका छन् । बक्सर अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ । सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिने सौभाग्य पाएका । उनी अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षकसमेत हुन् ।

अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिए । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु ।