अमेरिकाले फाइजरको खोप सुरु गर्ने, दुई सातामा एक करोड खोप दिंदै फाइजर

- सोमबारबाट खोप लगाउन थाल्ने, डिसेम्बरभित्रै २ करोड थान खोप ढुवानी हुने

-



     मनाेज अधिकारी    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, २८ मंसिर । कोरोना भाइरसविरुद्धको पहिलो खोपका रुपमा फाइजर कम्पनीको खोपलाई अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए) ले स्वीकृति दिएको छ ।

विज्ञहरुसहितको सल्लाहकार समितिले फाइजरको खोप प्रभावकारी र सुरक्षित रहेको भन्दै अनुमोदनको सिफारिस गरेको भोलिपल्ट एफडीएले शुक्रबार अबेर यसलाई स्वीकृत गरेको हो । अब यो खोप अमेरिकाभर सोमबारबाट आपतकालिन प्रयोगमा आउने छ ।

फडीएका कमिशनर डा.स्टेफिन हानले खोपको स्वीकृतिसँगै अहिलेको विनाशकारी कोरोना माहामारीसंग लड्न यो खोप एउटा कोशेढुंगा हुने विश्वास व्यक्त गरेका छन् । उनले यो खोपको प्रयोगले कैयन् अमेरिकी र विश्वभरका मानिसलाई बचाउने आशा गरेका छन् ।

अमेरिकामा शुक्रबारै दुई लाख २९ हजार कोरोना संक्रमित थपिएका छन् भने झण्डै तीन हजारको मृत्यु भएको छ । संक्रमित र मृतकको संख्या उल्लेख्य रुपमा बढिरहंदा यो खोपको स्वीकृति र प्रयोगका लागि एफडीए सामु चौतर्फी दवाव र जनअपेक्षा उत्तिकै थियो ।

फडीएका कमिशनर डा.स्टेफिन हानले खोपको स्वीकृतिसँगै अहिलेको विनाशकारी कोरोना माहामारीसंग लड्न यो खोप एउटा कोशेढुंगा हुने विश्वास व्यक्त गरेका छन् । उनले यो खोपको प्रयोगले कैयन् अमेरिकी र विश्वभरका मानिसलाई बचाउने आशा गरेका छन् ।

एफडीएको स्वीकृतिसँगै आगामी २४ घन्टाभित्रै २९ लाख थान खोप फाइजरले तोकिएका स्थानहरुमा उपलब्ध गराउने छ । शर्तअनुसार फाइजरले एकै दिनमा अमेरिकाभित्र ६ सय ३६ स्थानमा ती खोप पुर्याउनु पर्नेछ ।

यस्तै आगामी दुई साताभित्र दुई करोड थान खोप फाइजरबाट प्राप्त हुने अपेक्षा सरकारी अधिकारीले गरेका छन् । माइनस ८० डिग्री फरेनहाइटभन्दा बढी चिस्यानमा राख्नुपर्ने कारणले यो खोपको ढुवानी तथा भण्डारणलाई चुनौतीको रुपमा लिइएको छ ।

फाइजरको यही खोपलाई बेलायतले गत मंगलबारबाटै आपतकालिन प्रयोगमा ल्याइसकेको छ । केही दिनमै क्यानडाले पनि यो खोप लगाउने निर्णय गरिसकेको छ । अमेरिकी कम्पनी फाइजरले जर्मनको बायोएनटेक कम्पनीसंगको साझेदारमा विकास गरेको यो खोप ९५ प्रतिशतभन्दा माथि प्रभावकारी रहेको छ ।

यसैबीच, अर्काे अमेरिकी कम्पनी मोडेर्नाको खोप पनि आगामी साता स्वीकृत हुने चरणमा छ । अमेरिकाले मोडेर्नाको एक सय मिलियन खोप अर्डर गरिसकेको छ । स्वीकृति पाएलगत्तै ठूलो मात्रामा खोप उपलब्ध गराउन तयार रहेको मोडेर्नाले बताएको छ ।