
बागलुङ, २८ मङ्सिर । ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो ।
एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ । गत आवमा सङ्घ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित रु ९२ लाख बजेटबाट विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउनेदेखि पूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । “पर्खाल, घेराबार र प्रवेशद्वार निर्माणको काम शुरु भएको छ, अर्को वर्षसम्ममा संरचना तयार गरिसकेर औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य छ”, उनले भने । प्रदेश सरकारले चालु आवमा रु ६५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । गाउँपालिका आफैँले रु ३० लाख बजेट छुट्ट्याएको छ ।
यो वर्ष जग्गा ‘प्लटिङ’, विद्युत् विस्तार, खानेपानी आपूर्तिलगायत संरचना निर्माणको काम हुने जनाइएको छ । दश वटा उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले बताए । स्थानीय पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ । कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोलामा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् ।
ताराखोला गाउँपालिकासँगै बागलुङ नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण हुँदैछ । नगरपालिकाको वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरिएको छ । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




