अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु, न्यूयोर्कमा लगाइएको पहिलो खोप

- डा.मिशेलले लगाइन नर्स स्यान्ड्रा लिन्डसेलाई खोप

-



     मनाेज अधिकारी    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, ३० मंसिर । अमेरिकामा सोमबार बिहानैबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २३ मिनेटमा पहिलो खोप लङ आइल्याण्ड जुइस मेडिकल सेन्टरकी आइसियू नर्स स्यान्ड्रा लिन्डसेलाई डा.मिशेल चेस्टरले खोप लगाएर यो महाअभियान थालनी गरिएको हो । उनलाई खोप लगाउँदा टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । यसलाई इतिहासकै ठूलो खोप अभियान भनिएको छ ।

यो खोप सँगै अमेरिकाका विभिन्न राज्यका अस्पतालहरुमा प्राथमिक रुपमा स्वाथ्यकर्मी तथा कोरोनाका सिकिस्त विरामीमा खोप लगाउने अभियान थालिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

एक वर्षयता कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका हो । चीनबाट सुरु भएको यो भाइरसविरुद्ध लड्न अमेरिकाले खोप विकास गरि औपचारिक थालनी समेत गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा सोमबार बिहान नर्स स्यान्ड्रा लिन्डसेलाई कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाउँदै डा.मिशेल चेस्टर । तस्वीर : एपी

फाइजरले बायोएनटेकसँगको साझेदारीमा विकास गरेको यो खोपलाई गत शुक्रबार स्वीकृति मिलेको थियो । यो खोप ९५ प्रतिशत प्रभावकारी र सुरक्षित छ । यसअघि गत मंगलबार बेलायतले यही खोप पहिलोपल्ट लगाउन सुरु गरेको थियो ।

कसरी काम गर्छ यो खोपले ? 

यो एमआरएनए भनिने नयाँ प्रकारको खोप हो। महामारी मच्चाइरहेको भाइरसको सानो अंशको ‘जेनेटिक कोड’ प्रयोग गर्ने विधि हो । त्यसले शरीरलाई कोभिड-१९ विरुद्ध कसरी लड्ने भन्ने सिकाउँछ र रोग प्रतिरोधी शक्ति विकास गर्छ। 

“जब कुनै व्यक्तिले यो खोप पाउँछन् उनको शरीरले चुच्चो परेका प्रोटिनको सङ्ख्या वृद्धि गर्छ, तर त्यसले सङ्क्रमण गराउँदैन। बरु त्यसले रोग प्रतिरोधी शक्तिलाई कोरोनाभाइरस शरीरमा प्रवेश गरेको खण्डमा बचाउ गर्ने किसिमले प्रतिक्रिया गर्न सिकाउँछ।”

फाइजरको यो खोप २१ दिनको फरकमा दुईपटक दिइन्छ। दोस्रो मात्रालाई ‘बूस्टर’ भनिएको छ। पहिलो मात्रामा रोग प्रतिरोधी शक्ति बन्न थाल्छ तर दोस्रो मात्रा खोप दिएको सातदिनपछि यो पूर्ण प्रभावकारी बन्छ। 

खोपलाई असाध्यै कम तापक्रममा भण्डारण गर्नुपर्छ। फाइजरका अनुसार सुख्खा बरफ (ड्राई आइस) प्रयोग गरि ढुवानी गर्नुपर्ने हुन्छ । यसको भण्डारणमा पनि अत्यन्त सावधानीका साथ अत्यन्त चिसो बनाएर राख्नु पर्ने हुन्छ ।