कोरोनाविरुद्ध लड्न फाइजरपछि मोडेर्नाको खोप अनुमति पाउने चरणमा

-



     मनाेज अधिकारी    
     पौष २ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, २ पुस । कोरोना भाइरसविरुद्ध लड्न पहिलो खोप सुरु भएलगत्तै दोस्रो कम्पनीको खोप केहीदिनमै आउँदैछ । अमेरिकी कम्पनी फाइजरको खोपले अनुमति पाएर प्रयोगमा आएको केहीदिन भित्रै अर्काे अमेरिकी कम्पनी मोडेर्नाको खोप अनुमति पाउने चरणमा रहेकाे छ ।

अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए) ले मोडेर्नाको खोप झण्डै ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको आफ्नो विश्लेषण मंगलबार सार्वजनिक गरेको छ . अमेरिकामा कोरोनाविरुद्ध फाइजरको खोप सुरु गरेको भोलिपल्ट मोडेर्नाको खोप पनि उत्तिकै प्रभावकारी र सुरक्षित भनी विश्लेषण गरिएपछि यसले छिटै स्वीकृति पाउने अपेक्षा गरिएको हो ।

मोडेर्नाको खोप माइनस २० डिग्री सेन्टिग्रेड र फाइजरको खोप माइनस ७५ डिग्री सेन्टिग्रेडको आसपासमा भण्डारण गर्नुपर्छ । यी दुवै खोप केही साताको अन्तरमा दुईपल्ट लगाउनु पर्छ । जसअन्तर्गत फाइजरको दोस्रो खोप २१ दिन र मोडेर्नाको दोस्रो खोप २८ दिनमा लगाउनु पर्छ ।


यसको मतलब अब डिसेम्बर १७ (आगामी बिहीबार) बस्ने एफडीए सल्लाकार समितिको बैठकले यो खोपको विस्तृत अध्ययनपछि एफडीएलाई स्वीकृत अनुमतिको सिफारिस गर्नेछ । त्यसपछि एफडीएले स्वीकृत गरेमा मोडेर्नाको खोप कोरोना भाइरसविरुद्धको दोस्रो आधिकारीक खोप हुनेछ । ५४ पृष्ठ लामो अध्ययनका क्रममा मोडेर्नाको खोपमा कुनै सुरक्षा चासो नदेखिएको एफडीएको भनाई छ । यद्यपी यो खोप लगाएपछि कसैलाई सामान्य ज्वरो आउने तथा टाउको, जीउ र जोर्नीहरु दुख्ने जस्ता केही साइड इफेक्ट देखिन सक्ने एफडीएले औंल्याएको छ ।


दश वर्षअघि स्थापित मोडेर्नाको उत्पादन अहिलेसम्म एफडीएबाट अनुमोदन भएको छैन । लगभग पक्का भइसकेको यो खोप एफडीएबाट अनुमोदन भए मोडेर्नाको लागि यो नै पहिलो उच्चस्तरको उत्पादन हुनेछ । पछिल्लो सफलतासँगै यो वर्ष मोडेर्नाको सेयर मुल्य ७ सय प्रतिशत बढिसकेको छ ।यसअघि फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको खोपले गत शुक्रबार आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । यो खोप सोमबारबाट अमेरिकाका कैयन् राज्यस्थित अस्पतालहरुमा स्वास्थ्यकर्मी तथा सिकिस्त विरामीलाई लगाउन थालिएको छ ।

तीन साताअघि मोडेर्नाले पनि फाइजर लगत्तैसमक्ष आफ्नो खोप प्रयोगको अनुमतिको लागि एफडीएसमक्ष आवेदन दिएको थियो । मोडेर्नाले स्वीकृति पाएको २४ घण्टाभित्र खोप ढुवानी गर्न तयार रहेको प्रष्ट पारिसकेको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । पछिल्ला दिनहरुमा यहाँ दैनिक दुई लाखभन्दा बढी संक्रमण थपिने र तीन हजारभन्दा बढीको मृत्यु हुने क्रम जारी छ । यस्तो अवस्थामा थालिएको खोप अभियानले निकट भविष्यमा उल्लेख्य सुधारको आशा देखाएको छ ।

प्रभाव र सुरक्षाका हिसाबले दुवै खोप लगभग समान छन् । यद्यपी तुलनात्मक रुपमा मोडेर्नाको खोपलाई सहज मानिएको छ । मोडेर्नाकोभन्दा फाइजरको खोप धेरै कम चिस्यानमा राख्नु पर्ने हुनाले सबै ठाउँमा पुर्याउन र भण्डारण गर्न चुनौतीपूर्ण मानिएको छ । मोडेर्नाको खोप चाहिं सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिने हुनाले सहज ठानिएको हो ।

मोडेर्नाको खोप माइनस २० डिग्री सेन्टिग्रेड र फाइजरको खोप माइनस ७५ डिग्री सेन्टिग्रेडको आसपासमा भण्डारण गर्नुपर्छ । यी दुवै खोप केही साताको अन्तरमा दुईपल्ट लगाउनु पर्छ । जसअन्तर्गत फाइजरको दोस्रो खोप २१ दिन र मोडेर्नाको दोस्रो खोप २८ दिनमा लगाउनु पर्छ ।