डेनमार्कको राजनीतिबाट मैले सँगालेका केही अनुभवहरू

-


     हरीप्रसाद न्यौपाने,डेनमार्क    
     पौष २ गते २०७७ मा प्रकाशित


डेनमार्क आएको पनि १२ बर्ष भन्दा बढी भएछ। समय बितेको पत्तै नहुने रहेछ। एक जवान, जागरुक र प्रगतिशील बिचारका साथमा अस्ति मात्रै आएको जस्तो लाग्छ। आज पनि बिचार उस्तै छ। जिवनमा केहि अर्थपूर्ण गरौँ भन्ने तर अलग भौगोलिक धरातल, भाषा तथा संस्कृति  र अन्य तिता मिठा भोगाइ र गराईहरुलाई फर्केर नियाल्दा भने जस्तो सजिलो चाहिँ नभएकै हो। आज यहाँको सतारुढ़ दल सोसल डेमोक्रेट पार्टीको स्थानीय नेताको रुपमा कोपन्हेगन कम्युन (नगरपालिका) अन्तर्गत नीति निर्माण तहमा काम गर्दै गर्दा धेरै कुराको राम्रा तथा नराम्रा अनुभवहरु बटुलेको छु । ति केहि अनुभवहरु यहाँहरु माझ पस्कदै छु। 

आफूले देखेको र भोगेको कुरालाई जस्ताको तस्तै भन्ने हो भने हाम्रो राजनीति प्रतिको अवधारणा र डेनिसहरुको राजनीति प्रतिको हेराइमा खासै फरक छैन । त्यो भिन्नता राजनीतिज्ञहरुका बिचमा पनि देखिँदैन।  तर बुझ्ने तरिका र हेर्ने दृष्टिकोणको आधारमा भने केहि ठुला भिन्नताहरु छन्। राजनीति भनेको एक शास्त्र हो जसले समाज वा देशलाई बिकासको गतितिर धकेल्छ भन्ने कुरा सबैको साझा बुझाइ हो भन्न सकिन्छ।  तर राजनीतिलाई अवसरका रुपमा प्रयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नेताहरुको प्रवृतिले गर्दा आज जनताहरु र नेताहरु बिचको खाडल झन् भन्दा झन् ठुलो हुँदैछ। हाम्रो नेपाली समाजमा यो खाडल धेरै ठुलो छ भने डेनमार्कको समाजमा धेरै सानो छ। 

जहिलेदेखि यहाँको राजीतिमा प्रवेश गरेँ तब देखि म प्रशिक्षण, अन्तरकृया र अन्य बादबिबाद कार्यक्रमहरुमा भाग लिंदै आइरहेको छु।  धेरै भन्दा धेरै कार्यक्रमहरुमा भाग लिनका लागि समयलाई राम्ररी व्यवस्थापन गर्नु जरुरी थियो र मैले सायद धेरै हद सम्म सफल भए जस्तो लाग्छ। हाम्रो समाजमा आन्दोलनबाट मात्र नेता जन्मिने चलन छ।  तर यहाँ नेतृत्व बिकास, ब्यक्तिव बिकास, नेतृत्व रुपान्तरणका सेरोफेरोमा रहेर प्रशस्त कार्यक्रमहरु हुन्छन।  जुन एकदमै अनुकरणीय कार्य हो । बर्षौं सम्मको अनवरत संघर्ष पछि यहाँ नेता नेताका रुपमा स्थापित हुन्छन।  

करिब १ बर्ष यसरी सकृय भएपछि पार्टीका नेताहरु, संरक्षकहरू, सल्लाहकारहरु र शुभचिन्तकहरुले मैले उठाएका बिषयमा बिस्तारै चासो दिन थाले र मौका दिन थाले। त्यस अवधिमा मैले ठुलो कसरत गर्नु पर्यो। तर त्यति बेला सम्म मेरो भाषा खासै राम्रो भैसकेको थिएन।  उच्चारण, ब्याकरण र अन्य जटिलताका कारणले । हुन त आज पनि मेरो भाषा सोचे जस्तो राम्रो छैन । तर भन्न खोजेको कुरा मजाले भन्न सक्ने, अरुले भनेको बुझ्ने र नडराइ जानी नजानी परिस्थितिको मुकावला गर्ने बानीका कारण मेरो राजनैतिक यात्रा राम्ररी अगाडि बढेकै जस्तो लाग्छ। केहि गर्न खोज्ने र नयाँ सोचका साथमा अघि बढ्ने व्यक्तिलाई स्थान दिने यहाँको परम्परालाई मैले धेरै सम्मान गर्छु। 

आज स्थानीय बिस्पबिया क्षेत्रको उपाध्यक्ष,केन्द्रिय समितिको सदस्य, सोसल डेमोक्रेट्स इन कोपन्हेगनको (SIK) सदस्य, बिस्पबिया बिकास समितिको सदस्य  र आगामी स्थानिय निर्वाचन २०२१ को उम्मेदवारको रुपमा आफूलाई पाँउदा धेरै खुशी लागेकाे छ।  यसको श्रेय मुलत: यहाँको राजनैतिक प्रणाली र संरचनालाई जान्छ।  त्यसैगरि म संग विभिन्न हिसाबले जोडिने हरेक नेपाली र बिदेशी दाजुभाइ तथा दिदिबहिनीहरुलाई जान्छ। 

हरेक बैठक तथा औपचारिक भेटघाटमा आफ्ना एजेन्डाहरुमा मात्र केन्द्रिकृत हुने, प्रसंगले आउने कुरो फरक रह्यो तर अन्य पार्टीको कुरा नगर्ने र व्यक्तित्व बिकास, अध्ययन र विशेषज्ञहरु प्रतिको सम्मान गर्ने परम्परा पनि अत्यन्तै राम्रो लाग्छ मलाई। क्षमतावान व्यक्ति र गर्न खोज्नेलाई सम्मान गर्ने र स्थान दिने अर्थात कुरो सुन्ने प्रचलन पनि धेरै प्रसंशनीय छ । यो यहाँको धेरै जस्तो संस्थाहरुमा देखिन्छ। यो कुनै व्यक्तिको धारण मात्रै नभई पद्धतिको बनोट नै त्यस्तै बनेको देखिन्छ। त्यसैले इच्छुक साथीहरुले बिशेष तयारीका साथमा अघि बढ्नु भएमा यहाँ अवसरहरु प्रशस्तै छन्।

अर्को राम्रो पक्ष भनेको यहाँको सिस्टमको संरचना हो र जुन धेरै बलियो छ।  यहाँ सानो भन्दा सानो गल्ति गर्दा ठुला भन्दा ठुला नेताले आफ्नो पद, इज्जत र जागिर गुमाएका प्रशस्त उदाहरणहरु भेटिन्छ। गाँजा खाएर संसदमा छिर्दा पार्टीको कार्वाहीमा परी एक डेनिस नेताले आफ्नो राजनैतिक करियर गुमाउनु पर्यो । आज उनि सामान्य जागिरेको रुपमा काम गर्छन। ठुला पार्टीहरुमा यहाँ रक्सि पिउने चलन बढी छ । त्यसै दौरानमा छाडा भएर महिलामाथि हातपात गरेको आरोप लागेकै कारण कोपन्हेगन कम्युनका मेयरले आफ्नो पद गुमाउनु पर्यो । यद्यपी प्रमाणित हुन बाँकी नै थियो।

 त्यसैगरि रक्सी खाएर गाडी चलाएको बेलामा पुलिसले समाँउदा स्वीडेन कि एक महिला मन्त्रीले आफ्नो मन्त्रि पद गुमाएकी थिइन्। केहि समय अघि मात्रै डेनमार्कका कृषि मन्त्रिले संविधानको धारा मिचेर काम गरेको प्रमाणित हुँदा आफ्नो पद गुमाएका छन्। यहाँ यस्ता धेरै उदाहरण छन् जसले यहाँको सिस्टम कति बलियो छ भन्ने देखाउंछ। 

पहिला नीति नियम र सिस्टम तय गर्नु जरुरी हुने रहेछ । त्यसलाई बलियो बनाउन हरेक नागरिकको उत्तिकै गहन भूमिका रहन्छ नकि राजनितिज्ञहरुले मात्र।  सामान्य गाडी चालकले गाडीलाई स्टेसनमा नै रोक्नुपर्छ अन्त रोके कार्यवाही हुन्छ। कर्मचारीले घुस खाएको प्रमाणित भएमा संविधानको धारा अन्तर्गत कार्यवाही भएरै छाड्छ। हामीले यहाँका जनताले सिस्टमलाई सम्मान गरेको प्रशस्तै उदाहरणहरु आफ्नै आँखाले देखेका छौं र भोगेका छौं। यो हाम्रो समाजले सिक्न सक्ने ठुलो कुरा हो। 

यहाँ कार्यक्रमहरु हुदाँ ठुला नेताहरु सधैं अगाडि गएर आसन ग्रहण गर्नैपर्ने र आफ्नो मन्तब्य राख्नै पर्ने भन्ने हुदैंन। कार्यक्रममा धेरै बक्ताले सम्बोधनमा मात्रै घन्टौं खर्च गर्ने चलन छैन यहाँ। कार्यक्रम संचालकले कार्यक्रमको बारेमा सामान्य जानकारी गराएपछि पुग्छ। साथै कार्यक्रम कति घण्टा चल्छ र कुन बेला कस्ता खाले प्रस्तुतिहरु रहन्छन पहिलेनै बताइन्छ। जसले गर्दा आफूलाई मनपर्ने र सुन्नैपर्ने कार्यक्रमको भागलाई प्राथमिकतामा राखेर तयारी गर्न सजिलो हुन्छ।  

डेनमार्क स्थित केहि नेपाली संघ- संस्थाहरुले यो कुरालाई अनुसरण गरेको देखिन्छ।  डेनमार्कमा मात्रै होइन नेपालमा पनि हामीले यसो गर्न सके धेरै समयको बचत हुन्छ।  तर व्यक्तिको धारणामा परिवर्तन आउन जरुरी छ।  आफूलाई मन्चमा बोलाएर भाषण गर्न नदिएमा ठुस्स पर्नेहरुले यो कुरा बुझ्नु आवश्यक छ।  बोल्न पाइन्छ भनेरै संस्थाको जिम्मेवार पदमा बस्ने साथीहरु पनि देख्छौं हामी ।  बोल्न नपाए सामान्य सहयोग नगर्ने र कार्यक्रममा नै उपस्थित नहुने खालको मानसिकताबाट मुक्त हुनुपर्छ। म समाज परिवर्तनको एक एकाई हुँ भन्ने हरेकले यस्तो ब्यक्तिबादी सोचबाट टाढा रहन जरुरि छ। 

कार्यक्रममा संस्थाको आकार अनुसार सम्बोधन गर्ने र पालो दिने चलन यहाँ पनि छ – जुन हाम्रो समाजमा झन् बढी छ।  तर मेरो बुझाइमा यस्तो खालको सम्मान खोज्नु पनि आवस्यक छैन।  व्यक्तिको नाम र संस्थाको नाम भन्दा पनि काम ठुलो हुन्छ भन्ने मेरो बुझाइ छ। 


नछुटाईकन भन्नु पर्ने अर्को कुरा के हो भने यहाँ सम्बन्धित क्षेत्रमा काम गर्ने एक्स्पर्टलाइ ठुलो सम्मान दिइन्छ।  कुनै पनि नेताले आफुले नजानेको बिषयमा बोल्दैनन र यदि बोलिहाले भने अविस्वासको प्रस्ताब आएका कारण अर्को पटक पार्टीबाट टिकेट नमिल्न पनि सक्छ उनलाई। सम्बन्धित विज्ञहरुको बिचारलाइ सुने पछि अन्तिम निर्णय त नेताहरुले नै गर्ने हुन तर के गर्दा राम्रो हुन्छ भनेर विज्ञहरुको विचार सुन्ने अनि छलफल अघि बढाउने यहाँको चलन धेरै राम्रो लाग्छ मलाई। 

तर हाम्रोमा जाने पनि नजाने पनि नेता नै एक्स्पर्ट बन्नु पर्ने नराम्रो प्रवृति छ।  यहाँ नेताले थाहा नभएको कुरालाई मलाई थाहा छैन र अनुसन्धान गरेर जानकारी गराँउछु भन्छन तर हाम्रोमा उत्तर दिन नसक्दा बेइज्जत हुन्छ भन्ने नेताको मानसिकता र सोधेको प्रश्नको उत्तर दिन नसक्दा नेता कम्जोर भन्ने जनताको मानसिकता दुवैमा कमजोरी देख्छु म। 

चुनाव प्रचारका नाममा सित्तैमा ब्रेड बाँड्ने, फूलहरु दिने, पार्टीमा खाना खान निम्ता गर्ने जस्ता कार्यहरु यहाँ पनि हुन्छन। समाजमा खशी काटेर खुवाउने, सारी, पछ्यौरा र अन्य लत्ता कपडा बाँड्ने, थर्काउने, धम्काउने र ब्ल्याकमेल गर्ने चलन हाम्रोतिर झन् बढी छ। डेनमार्कमा नै किन नहोस जनतालाई सित्तैमा चिज बस्तु बाँड्ने कुरा व्यक्तिगत रुपमा मलाई राम्रो लागेन। थर्काउने र धम्काउने भन्ने यहाँ सम्भव छैन तर लोभ देखाउने र भोट माग्ने चलन भने यहाँ पनि छ।

  मैले पार्टीको आन्तरिक बैठकमा यो कुरा उठाई उक्त गतिबिधि खारेज गर्दा राम्रो होला भनि प्रस्ताव राखेको थिएँ तर यो बिषयमा कसैले त्यति चासो दिए जस्तो लागेन।  तर मेरो प्रयास जारी छ – किनकि गलत जसले गरे पनि गलत हुन्छ – चाहे त्यो नेपालीले गरुन वा डेनिसले।  फेरी सित्तैमा भनेपछि जहाँ पनि पुग्ने केहि डेनिसहरुको मानसिकता पनि अचम्मको छ यहाँ।  यो मेरो व्यक्तिगत बुझाइ र भोगाइ हुन सक्छ किन कि हामीले कस्ता व्यक्ति संग ठोकिन्छौँ, के काम गर्छौं र कहाँ काम गर्छौं भन्ने जस्ता बिषयले  पनि भोगाइ र बुझाइका अनुभूतिहरुलाई प्रभाव पर्न सक्छन।  त्यसैले यो कुरा कसैको भावनासंग ठ्याक्कै मिल्नु पर्छ भन्ने छैन। 

भोटरहरुको मानसिकतालाई नियाँल्दा के देखिन्छ भने यहाँ थोरै फ़ण्डामेण्टालिस्ट अथवा जडसुत्रबादी भोटरहरु छन् – यानकी  मेरो बुवा, आमा, काका वा मामा फलानो पार्टीको अनुयायी हुनुहुन्थ्यो र म पनि तेसैले त्यहि पार्टीको सदस्य हूँ र त्यहि पार्टीलाई भोट हाल्छु भन्ने विचार भएका भोटरहरु। धेरै जसो भोटरहरुले पार्टीको प्रस्तुति हेरेर भोट हाल्ने गर्छन र बाँकी केहि भोटरहरुले अन्तिम दिनमा नेताहरुको कुराकानी सुनेर भोट हाल्ने गर्छन।  आँफु अर्कै पार्टीको सदस्य भए पनि व्यक्ति राम्रो भए अर्कै पार्टीको नेतालाई समेत भोट हाल्ने चलन छ यहाँ । भोट नहाल्नेको पनि अचम्मको बुझाइ छ यहाँ । उनीहरु भन्छन, जुन नेता आए पनि जुन सरकार बने पनि हामीलाई राम्रो हुने काम गर्छन वा समाजको हित हुने काम गर्छन – त्यसैले हामी भोट हाल्दैनौं।  हाम्रोतिर कसलाई भोट हाल्ने भन्ने कुरा लगभग पहिले नै तय हुन्छ। 

हामी पार्टी वा व्यक्तिको एजेन्डालाई त्यति धेरै ध्यान दिदैनौं र आफ्नै पाराले भोट हाल्छौं।  आफुले जिताएको नेताले सिन्को नाभाचे पनि अर्को चुनावमा फेरी उसैलाई भोट हाल्छौं।  त्यसै गरि हाम्रोमा नेताको कार्य देखि आजित भएर भोट नहाल्ने व्यक्तिहरु पनि छन्। यहाँ यदि नेताले आफुले भनेका एजेण्डा पुरा गरेनन भने अर्को पटक पत्तासाप हुने खतरा रहन्छ। तर बाद बिबाद र तर्क गर्न सक्ने नेताले व्यक्तिगत हिसाबले आफुलाई निर्दोष साबित गर्ने यहाँ बिरलै नेताहरु भेटिन्छन।

डेनिस चुनावलाइ हेर्दा स्थानिय निर्वाचनमा करिब ५५% र संसदीय निर्वाचनमा करिब ८० % मत झर्ने गर्छ र पार्टीले पाएको मतको आधारमा कति जना सदस्यहरु छानिने भन्ने कुरा निर्क्योल गरिन्छ। संबिधानमा उल्लेख गरिए अनुसार कुनै पार्टीले २० हजार व्यक्तिको हस्ताक्षर जम्मा गर्न सके पार्टी दर्ता गर्न पाउने प्रावधान छ र चुनावमा खसेको कुल मतको २% मत ल्याउन सकेमा पार्टीले संसदमा आधिकारिकता प्राप्त गर्न सक्छ।  साथै कुनै पार्टीको सदस्य नभैकन पनि चुनावमा उठ्न मिल्छ तर स्थानिय चुनावमा करिब २ हजार र संसदीय निर्वाचनमा करिव २० हजार भन्दा बढी मत ल्याउनु पर्छ।

(न्यौपाने, डेनमार्कको राजनितीमा सक्रिय नेपाली युवा एवं आगामी स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवार हुन् ।)