व्यापारिक र सामरिक महत्वको शहर पोखरा

-


     आनन्दराज मुल्मी    
     पौष ४ गते २०७७ मा प्रकाशित


खण्ड-३

विश्वका कैयन् दर्शनीयस्थलहरु, घुम्नुपर्ने ठाउँहरु, रमणीय ठाउँहरु रहेका छन् । त्यसमध्ये कास्की र सदरमुकाम पोखरा पनि त्यो श्रेणीमा आउँछ । नेपालको नक्शामा पूर्व र पश्चिमको केन्द्रबिन्दु उत्तर र दक्षिणका मुलुकहरुको समदूरीमा रहेको मध्यकेन्द्र हो पोखरा । त्यसमाथि कास्कीको सबै उत्तरी क्षेत्र १२ महिना हिउँले ढाकिरहने हिमालय श्रृङ्खला अवस्थित छ । रमणीय प्राकृतिक छटाले भरिपूर्ण प्राकृतिक कास्कीको भूमागमा मानवबस्ती बस्न शुरु भएको २६०० वर्ष अगाडि भनिएको छ भने ठूलो शहरको रुपमा रहेको पोखरा २६८ वर्ष पुरानो बस्तीको रुपमा लिइन्छ । अहिले प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको कास्की र पोखरा संघीय प्रणाली अर्थात् गण्डकी प्रदेशको राजधानीको रुपमा रहेको छ ।

हामी कास्कीको सामरिक महत्व बारे विवेचना गरिरहेका छौं । पुरातनकालदेखि रही आएको सामरिक महत्व अहिले झन् बढी भएको छ तर विद्वतवर्गमा वैचारिक दृष्टिकोणले चर्चा परिचर्चाको अभाव छ । पोखरा अझैं पनि बौद्धिक केन्द्रको रुपमा स्थापित भइनसकेको परिवेश छ । तर मुलुकको परिप्रेक्ष्यमा रणनितिक, कुटनीतिक दृष्टिकोणले अरु शहरको तुलनामा संवेदनशील छ, पोखरा । १९ औं शताब्दीतिर पश्चिमेली इतिहासकारहरु, अनुसन्धानकर्ताहरु कास्की र पोखरा आइ ऐतिहासिक, अनुसन्धानमूलक कृतिहरु प्रकाशित गरेको संख्यात्मक रुपमा प्रशस्त पाउँछौं । सबैभन्दा महत्वपूर्ण त सन् १८९९ मा जापानी विद्धान भिक्षु कावागुची तिब्बत यात्रामा जान थुप्रै बाटोहरु हुदाँहुँदै पोखरामा २/४ दिन बिताएर तिब्बततर्फ लाग्नु महत्वपूर्ण घटना हो । उनले लेखेको किताब तिब्बतमा ३ वर्षमा पोखरा र वरिपरिका क्षेत्रबारे विवेचना गरेर लेखेपछि पोखरालाई विश्वका अन्य देशका मानिसले बुझ्ने, चीन्ने र थाहा पाउने अवसर पाए ।

सन् १९२० पछि भारतमा स्वतन्त्रता आन्दोलन शुरु भएपछि राणा शासकहरुमा पनि असन्ताेष शुरु हुन लागेको थियो । राणा शासकहरु आफ्नो सत्ता जोगाउन शक्तिशाली राजाहरुलाई काठमाण्डौंं बाहिर धपाउने चलन, कोतपर्व, भण्डारखाल पर्वजस्ता घटनाबाट पनि पुष्टि हुन्छ । त्यसमध्ये शक्तिशाली राणा जर्नेल बबरशम्सेर कास्की पठाइए । त्यहीबेला भारतबाट तिर्थयात्राको नाममा धेरै मानिसहरु हालको नारायणस्थान वरिपरि जोगीको रुपमा बस्ने गरेको उल्लेख भएको पाउछौं । उनीहरु राणाविरुद्ध जनतालाई विद्रोह गर्न सिकाउने गर्थे प्रवचन गर्दथे । यसरी नेपालमा पनि राजनैतिक चेतना बृद्धि गर्न मद्धत पुर्याइएको थियो र पोखरा मुकाम गरि धेरै ठाउँमा सन्देश पुर्‍याउन सकिने भएकोले पोखरालाई केन्द्र बनाएको पाइन्छ । सन् १९२८ मा भारतबानट भिक्षु महपद पोखरा आएर बौद्धधर्म प्रचारमा लागेको उल्लेख छ ।

प्रथम विश्वयुद्ध सन् १९१४–१९१८ र दोस्रो विश्वयुद्ध सन् १९३९–१९४४ ताका बेलायत सरकारले सेनामा भर्र्ति गर्न कास्कीलाई केन्द्र बनाएर धेरै मानिसहरुलाई सैनिक रुपमा भर्ति गरेर लगेको र बेलायतको लागि विभिन्न मुलुकहरुमा गएर युद्ध गरेको इतिहासमा उल्लेख छ । बेलायतले युद्धमा विजय प्राप्त गरेपछि कास्की पोखरा को सामरिक रुपमा झनै महत्व बढेको पाउँछौ ।

माथि उल्लेख गरेझैं राणाविरुद्धको स्वतन्त्रता आन्दोलनको सुत्रधारको रुपमा पोखरा केन्द्र नै रहेको पाउँछौं । विसं २००४ सालमा त्यसबेलाको कांग्रेस पार्टीको गतिविधि संचालन, आन्दोलनमा सहभागीता जनाउने, राणाकालीन कार्यालयहरु कब्जा गर्ने जस्ता कामहरु भएका थिए । पछि यही पार्टी नेपाली कांग्रेस पार्टीमा रुपान्तरण भयो । भारतमा सन् १९४९ मा पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई बिस्तार गर्न सन् १९५१ मा पोखरामा कम्युनिष्ट पार्टी स्थापना गरेको पाइन्छ । पोखरालाई महत्व दिएर पार्टीको गतिविधिहरु बढाउनुको पछाडि पोखराको रणनीतिक महत्व रहेको प्रष्ट हुन्छ ।

नेपालमा प्रजातन्त्रको स्थापना पछि पोखरा विदेशीहरुको आँखामा परेको उनिहरुको गतिविधिबाट थाहा पाउन सहिन्छ । हिमालहरु आरोहण गर्ने उद्देश्यका साथ थुप्रै टोली सन् १९५० पछि निरन्तर आएको पाउँछौ । सन् १९५२ मा पहिलो पटक हर्वाजहाज पोखरा आइपुग्यो । इटालियन घुमन्ते टुसी, स्वीस भूगोलविद टोनी हेंगन जस्ताले पोखरालाई केन्द्रमा राखेर प्रकाशनहरु गरे । सन् १९५४ तिर नै युरोपको मिशनरी टोली पोखरामा अस्पताल लगायत अन्य गतिविधिहरु संचालन गर्न आइपुग्यो । पोखरा मै बसेर ढोरपाटन, बुर्तिवाङ्ग, गलकोट क्षेत्र सम्म आफ्ना गतिविधिहरु संचालन गरेका थिए । सन् १९५९ मा चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि ठूलो तिब्बेतियन जत्था शरणार्थीको रुपमा पोखरा आइपुगे र ४ वटा ठुला शरणार्थी क्याम्प बनाएर बस्न थाले । आजसम्म यी क्याम्पहरु यथावत् रहेका छन् । तिब्बेतियन खम्पाहरुले चिनको आक्रमणविरुद्ध लडेर पोखरालाई मुकाम बनाएको हुनाले थुप्रै युरोपियन अमेरिकनहरु सहयोग गर्ने भनेर पोखरा आएको हुनाले कुटनितिक गतिविधि असाध्यै बढेको पाउछौं ।

यसैबीच भारत र बेलायतले सांस्कृतिक केन्द्र र पुस्तकालय स्थापना गरि आफ्ना गतिविधिहरु तिव्र पारेका थिए । झन् यही बेला निर्वाचित नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरी राजाले प्रत्यक्ष शासन चलाउन लागेको हुनाले पनि विदेशीहरुको स्थान पोखरामा केन्द्रित हुनपुगेको पाउँछौ । यही बेला बेलायतका महारानीलाई पोखरा भ्रमण गराइएको थियो । यसले पनि पोखरा सामरिक महत्वको शहर भनि पुष्ट्याई गर्न सकिन्छ ।

भारतीय सेनामा यस क्षेत्रका धेरै मानिसहरु भर्ति भएका थिए । अवकाश लिएर पनि फर्किसकेका थिए । उनीहरुका परिवारलाई सुविधा दिन अस्पताल, स्कुल स्थापना गरे भारतीय सरकारले पोखरामा सिंचाई गर्न कुलो तथा बत्ती बाल्न फेवाबाँध निर्माण गर्न सहयोग पुर्याए । अनि भारतको सिमानासँग सम्पर्क कायम गर्न पोखरा सुनौली मार्ग निर्माणमा सक्रिय भए र भारतीय पेन्सनमार्फत सम्पर्क कार्यालय पनि खोले । यसरी पोखरा धेरै विदेशी राष्ट्रहरुको चासोको ठाउँ बन्न पुगेको थियो । काठमाण्डौं राजधानीपछि पोखरा सर्वाधिक महत्वको शहरको रुपमा स्थापित भयो । लेखकः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्।