अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

-



     मनाेज अधिकारी    
     पौष ६ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, ६ पुस । अमेरिकी सरकार मातहतका निकायहरुमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यहाँको वाणिज्य मन्त्रालय र उर्जा मन्त्रालयमा साइबर हमला भएको हो । यद्यपी यस्तो हमलाको क्षतिबाट ठूलो असर भने नपरेको अमेरिकी दावी छ ।

ऊर्जा मन्त्रालयले साइबर हमला भए पनि परमाणु हतियार सम्बन्धमा कुनै असर नपरेको बताएको छ । ऊर्जा मन्त्रालयले अमेरिकाका सबै परमाणु हतियारको रेखदेख गर्ने उच्च निकाय हो ।

“अमेरिकी सरकारका कुनै निकायमाथि अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यद्यपी यसबाट परमाणु हतियार भण्डारमा कुनै असर परेको छैन” मन्त्रालयले भनेको छ ।

केही दिनअघि अमेरिकी वाणिज्य मन्त्रालयमा पनि यस्तै साइबर हमला भएको थियो । ह्याकरहरुले पछिल्ला केही सातादेखि वाणिज्य मन्त्रालयमा साइबर आक्रमण गर्दै आएको हालै मात्र पत्ता लागेको हो । अधिकारीहरुले यसमाथि गम्भिर अनुसन्धान चलिरहेको जनाएका छन् ।

अमेरिकी ऊर्जा र वाणिज्य मन्त्रालयमा भएका यी पछिल्लो साइबर आक्रमणबाट ह्याकरहरुले के कस्ता सूचना चोरी गरे भन्ने खुलाइएको छैन ।

अमेरिकाले आफ्ना सरकारी निकायहरुमा हुने साइबर आक्रमणमा रसिया जिम्मेवार रहँदै आएको बताउने गरेको छ । यी हमलामा पनि रसिया जिम्मेवार रहेको किटान गरिएको छ । रुसले भने आरोप अस्वीकार गरेको छ ।

यसैगरी माइक्रोसफ्ट कम्पनीको सिस्टममा पनि साइबर ह्याकरको शंकास्पद सफ्टवेयरहरु देखा परेका छन् । ती सफ्टवेयर खतरनाक हुने देखेर सम्भावित कदम चालिएको माइक्रोसफ्टले बताएको छ ।

माइक्रोसफ्टले केही सरकारी एजेन्सी, थिंक ट्यांक, एनजिओ र आइटी कम्पनीका करिब ४० प्रयोगकर्तामाथि साइबर हमलाका खतरनाक सफ्टवेर देखा परेको बताएको छ । तीमध्ये धेरै अमेरिकी प्रयोगकर्ता छन् । अन्य केही बेलायत, क्यानडा, स्पेन, इजरायल, मेक्सिको, र बेल्जियमका छन् ।

अमेरिकी सरकारका निकायहरुमा यसरी ठूल्ठूला साइबर आक्रमण हुँदा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । जसका कारण उनको आलोचना गर्न थालिएको छ । ट्रम्पले आफ्नो कार्यकाल सकिने बेलामा अमेरिकी गोप्यता तथा अन्य सुरक्षा संयन्त्रहरु कमजोर बनाएर छोड्न खोजेको टिप्पणी हुन थालेका छन् ।

यता, नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले चाहिँ साइबर सुरक्षा आफ्नो सरकारको सबैभन्दा ठूलो प्राथमिकताको विषय हुने प्रतिक्रिया दिइसकेको छन् ।सिएनएन र बीबीसीबाट