अमेरिकामा ६ सयको सट्टा २ हजार डलरको राहत बिल पारित

-



     मनाेज अधिकारी    
     पौष १४ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, १४ पुस । अमेरिकामा राहत चेक ६ सय डलरबाट २ हजार डलर बनाउने बिल तल्लो सदन हाउस अफ रिप्रेजिन्टेटिभबाट सोमबार पास भएको छ । यो बिल अब सिनेटमा पेश हुनेछ ।

सिनेटको मतदानले पारित गरेपछि बल्ल यो बिल राष्ट्रपति समक्ष हस्ताक्षरका लागि जानेछ । कोरोना अतिप्रभावित मुलुक अमेरिकामा यो दोस्रो चरणको राहत प्याकेज हो ।

तल्लो सदनमा बिलको पक्षमा २७५ र विपक्षमा १३४ मत परेको छ । त्यसमा ४४ रिपब्लिकनले बिलको पक्षमा मतदान गरे । यसअघिप हिलो चरणमा १७ वर्षभन्दा माथिका प्रत्येकलाई १२ सय डलरको राहत चेक दिइएको थियो ।

दोस्रो चरणको राहत चेक २ हजार डलर बनाउन डेमोक्र्याट्सले निकै प्रयास गरे पनि रिपब्लिकनले मानेका थिएनन् । दुवै सदनबाट पारित बिललाई गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर नगरि रोकेका थिए । उनले राहत चेक २ हजार डलर हुनु पर्ने अडान राखेपछि यो बिल फेरि सदनमा पेश भएको हो ।

यसअघि ट्रम्पले ६ सय डलरको राहत चेकसहितको ९ सय बिलियनको राहत प्याकेजमा आइतबार हस्ताक्षर गरेका थिए । त्यसको भोलिपल्टै संशोधनसहितको अर्काे बिल तल्लो सदनबाट पारित भएको छ । माथिल्लो सदन सिनेटमा रिपब्लिकनको बहुमत छ ।

त्यहाँ उनीहरुको बहुमत सदस्यले चाहे भने मात्र यो बिल पास हुनेछ । यो बिल पास भए व्यक्तिले २ हजार र दम्पतीले ४ हजार डलर पाउने छन् ।

वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने व्यक्ति दुई हजार डलरको यो राहत चेक पाउन योग्य हुनेछ । यस्तै दम्पतीको हकमा वार्षिक १ लाख ५० हजारभन्दा कम कमाउने चार हजार डलर पाउनेछन् । यो रकम अमेरिकामा वैधानिक रुपमा बसेर कर तिर्नेहरुले मात्र पाउँछन् ।