सामरिक महत्वको शहर पोखरा

- पोखराको पर्यटनलाई विश्वमा चिनाउन हिप्पी संस्कृतीकाे ठूलो देन

-


     आनन्दराज मुल्मी    
     पौष १८ गते २०७७ मा प्रकाशित


खण्ड-३

पोखरा निरन्तर रुपमा पर्यटनकाे शहरको विकास हुने क्रम जारी थियो । विश्वमा हिप्पी संस्कृतिको शुरुवात भइसकेपछि कम बजेटमा देश भ्रमण गर्न आउनेहरुको आकर्षणको केन्द्र पोखरा बनिसकेको थियो । भाङ गाजा सजिलैसँग उपलब्ध हुने ठाउँ पोखरा भइसकेको थियो । त्यसको परिस्कृत रुपमा चरेस सेवन गर्ने थलो को रुपमा परिचित हुन थालेको थियो ।

पोखरालाइ र वरिपरिका क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विश्वव्यापी परिचित गर्न हिप्पी संस्कृतिको ठूलो देन थियो र हिप्पीकै भेषमा सूचना संकलन गर्न पनि थुप्रै विदेशीहरुको आगमन भएको थियो । तिब्बती शरणार्थीहरु क्रमशः स्वतन्त्र तिब्बतको अभियान पोखरामा केन्द्रित हुनुले पनि धेरैको चासो बन्न पुगेको थियो । भारतले शुरुमा निर्माण गरेको सिँचाइको लागि नहर, विद्युतको लागि बाँध, सुनौली पोखरा सडक ध्यानमा राख्दै चीनले पनि सिचाइ नहर, विद्युतको लागि विद्युतगृह अनि काठमाडाैं‌ जोड्न पोखरा काठमाडाैं पृथ्वीराजमार्ग निर्माण गरेको पाउँछौं र पछि यहीँ राजमार्ग बाग्लुङसम्म पुर्‍याउनु पछाडिको कारण उत्तरी तिब्बत छुने सिमाना पुर्‍याउने रणनीति पनि थियो । यसरी सामरिक दृष्टिले भारत र चीनको आ–आफ्नो स्वार्थको कारणले पोखरामा आफ्नो उपस्थिति जनाइराख्ने प्रयासमा लागेको स्थिति थियो ।

पोखरालाई केन्द्रबिन्दु बनाएर स्वतन्त्र तिब्बत अभियान चलाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा पश्चिमेली मुलुकहरुको सहयोग समर्थन रहेकोमा चीनले सधैं विरोध गर्दै रह्यो । तिब्बती शरणार्थी क्याम्पहरु हटाउन निकै प्रयत्नशिल रह्यो तर सफल हुन सकेन । त्यसको विपरीत तिब्बती शरणार्थी क्याम्प नजिकै ठूला बौद्ध गुम्बाहरुको निर्माण गरेर आफ्नो बलियो उपस्थिति देखाउन लागिपरेका थिए र छन् । अर्कोतर्फ भारत सदैव नेपालको बाटो मुस्लिम आतंकवादीहरु प्रयोग गरिरहेको र भारतमा आतंकवादी गतिविधिलाई तिब्रतर बनाउन मदरसाहरु प्रयोग गरिरहेका छन् । भारतमा यस्ता गतिविधि गरेपछि नेपालमा लुक्न आउँछन् भन्ने आरोप लगाइरहेको हुन्छ । यसैक्रममा पोखरा नजिकबाट आतंककारी घोषित मानिसलाई समातेर भारत लगेको कुराबाट पनि पुष्टि हुन्छ । पोखरा र वरिपरि क्षेत्रमा सुरक्षितसँग बस्न सकिने आंकलन गरिने भएकोले यस्ता गतिविधिहरु बढोत्तरी भएको पाउँछौ ।

यस्ता गतिविधिहरु बढ्नु पछाडी पोखरा विदेशीहरुको लागि घुम्ने स्थल, रमणीय ठाउँ र दिनहरु बिताउन धेरै ठाउँ भएकाले अपराधिक कार्यमा लाग्नेहरुको लागि केही हदसम्म सुरक्षित ठाउँ हुन पुगेको हो । तर यस्ता गतिविधि रोक्न सरकार सरकार चनाखो मात्र होइन गुप्तचर प्रणाली नै प्रभावकारी बनाउन सक्यौ भने मात्र सम्भव छ । त्यसैले पोखरा र कास्की क्षेत्र सामरिक दृष्टिकोणले महत्वपूर्ण स्थान थियो । यस्को धूबनोट, सुन्दर शान्त रमणिय ठाँउ भएकोले राजाहरु पनि महत्वपूर्ण राजनैतिक निणर्य लिनको लागि पोखरामा २/४ दिन बस्ने गरेको यथार्थ पनि छ । नेपालमा चलेको माओवादी सशस्त्र युद्धको अन्तिम निकासको प्रारुप नै कास्की को सिक्लेसमा लेखिएको कसैबाट छिपेको छैेन ।

यस्तो महत्वपूर्ण शहरको महत्व पछिल्लो कालखण्डमा आएर बढ्न नसकेको अनुभूति आम जनताले महसुस गरिराखेका छन् । केन्द्रिय राजनीति र संघीय सरकारमा कास्कीको उपस्थिति प्रभावशाली हुन नसकेको अनुभूति सबैले गरेका छन् । ५० वर्ष अगाडि पोखरामा अन्तराष्ट्रिय हवाइ अड्डा बनाउनु पर्छ भनेर भनिएका कुरा पूरा गर्न कस्केली जनताले महिनौ लामो आन्दोलन गर्नु परेको कुरा कसैले पनि बिर्सेका छैनन् । पोखरालाई व्यवस्थित र फराकिलो शहरको रुपमा विकसित गर्न २५ वर्ष अघि शुरु गर्न खोजिएको चक्रपथबारे अहिलेको सरकारको ध्यान नपुगेको सबै नागरिकले महसुस गरेकै छन् ।

सार्क सम्मेलन भएको बेला सरकार प्रमुखलाई रिट्रिट गर्न पोखरा ल्याउने कुरा लगभग टुंगो लागे पनि पछि स्थगित हुनु पछाडि सरकारमा कस्केली जनप्रतिनिधिहरुको पहुँच र दबाबमा कमी देखिएको थियो । निकट भविष्यमा तयार हुने अन्तराष्ट्रिय हवाई अड्डालाई ३ हजार मिटरको रनवे निर्माण गरेर ठुला जहाजहरु (२८० यात्रु भन्दा बढी बोक्न सक्ने जहाज अवतरण र उडान गर्न सक्ने) ल्याउनु पर्छ । तबमात्र पोखरा अन्तराष्ट्रिय शहरको रुपमा परिणत हुन्छ भनेर धेरैपटक सरकारमा बस्नेहरुलाई ध्यानाकर्षण गरियो । सबैले यो हुनैपर्छ गर्नेपर्छ भनेर स्विकार्छन तर २५ सय मिटर भएको हवाइअड्डा निर्माण सम्पन्न हुने बेला भयो तर ३ हजार मिटर बनाउनेतर्फ तीन तहका सरकारको चासो कत्तिपनि देखिएन ।

पोखरा जे छ त्यहीँ रुपमै राख्नुपर्छ त्यति नै पर्याप्त हुन्छ भनेर संघीय राजधानी काठमाडाैंमा लबिङ गर्ने समूह बलियो भएको छ । त्यो लविङ चिर्न न राजनैतिक दलका नेताहरुको ध्यान पुग्न सक्यो न जनप्रतिनिधिहरुको । पोखरा कास्कीलाई घलेराजाको पालादेखि नै सामरिक महत्व रहेको क्षेत्रको रुपमा परिचित यथार्थलाई आधुनिक सरकारहरुले बुझ्न नसक्नु विडम्बनाको कुरा हो । समय छ, पोखराको महत्व घट्दैन, रणनितिक र कुटनितिक रुपमा पोखराको अग्रस्थान भविष्यमा रहने छ नै तर जिम्मेवार राज्यसंयन्त्रले यसबारेमा चिन्तन गर्न जरुरी छ ।

आमकस्केलीवासीहरुले जनप्रतिनिधिहरु, दलका नेतृत्वकर्ताहरुलाई झकझकाइ राख्न जरुरी छ । पोखराको भूगोल यहीँ नै रहनेछ । सेती नदी हिमाल हुन्जेल बगिरहनेछ । अतिक्रमण भएन भने सातवटा तालहरु रहिरहने नै छन् । यो भन्दा सुन्दर यो भन्दा बढी रमणीय र दर्शनीय बनाउन आमनागरिकको जागरुकता चाहिन्छ । जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु छ। लेखकः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् ।