विराटनगर आँखा उपचारको केन्द्र बन्दै

- छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेशबाट बिरामी आउने गरेका छन्

-


     अञ्जना पराजुली    
     पौष २३ गते २०७७ मा प्रकाशित


विराटनगर, २३ पुस । विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतबाट पनि यहाँ बिरामी आउने गर्छन् । सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सन् २००४ मा भाडाको घरबाट शुरु भएको बिराटनगर आँखा अस्पतालमा अहिले वर्षमा एक लाखभन्दा बढी विरामीको आँखाको बिभिन्न शल्यक्रिया हुँदै आएको छ । फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत मोतिविन्दुको सफल उपचार हुने गरेको छ भने जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको छ ।

“आँखामा लाग्ने रोगकै कारण अहिले पूर्वाञ्चलका मानिसहरु बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ”, विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार प्रिठुले भने, “बरु बाहिरबाट उपचारकै लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।” अन्य अस्पतालभन्दा धेरै सस्तो र गुणस्तरीय उपचार भएकाले पनि यस अस्पताल बिरामीको चाप बढ्दै गएको छ ।

अस्पतालले ज्येष्ठ नागरिकको उपचारमा विभिन्न सहुलियत र सुविधा प्रदान गर्दै आएको छ । यहाँ स्थापना भएका आँखा अस्पतालहरुमध्ये सबैभन्दा धेरै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीको आँखाको परीक्षण तथा उपचार हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी भारतीय नागरिक हुन् । “स्वदेशी र भारतीय नागरिक मात्रै होइन, यस अस्पतालमा उपचारका लागि भुटान र बङ्गलादेशबाट पनि बिरामी आउने गर्छन्”,प्रबन्धक प्रिठूले भने । सन् २०१९ मा विराटनगर आँखा अस्पतालमा छ लाखको आँखा र कानको उपचार भएको तथा ७२ हजार बिरामीको शल्यक्रिया भएको सो अस्पतालले जनाएको छ ।

यसबाहेक, विराटनगर आँखा अस्पतालमा व्याचलर इन अप्थेल्मोलोजी रेसिडेन्सी कार्यक्रम सञ्चालन हुँदै आएको छ भने बिभिन्न फेलोसिपका कार्यक्रमसमेत सञ्चालित छन् । दातृ निकायको सहयोग, मेहनती टिम तथा सस्तो, सुलभ तथा गुणस्तरीय सेवाका कारण पनि अस्पताललाई यो स्थानमा पु¥याउन सम्भव भएको उहाँको भनाइ छ । प्रबन्धक प्रिठूका अनुसार हजाराैं मानिसलाई आँखाको नानी नपाएर अन्धो भएर बस्नुपर्ने बाध्यता छ ।

‘आँखा दान महादान’ भन्ने नारा गाउँगाउँसम्म पुग्न सकेको छैन् । आफू मरेपछि गरिने आँखा दानबारे आम नागरिक अझै पनि सचेत र जागरुक हुन सकेको छैन । त्यसैले अस्पतालले विभिन्न ठाउँमा गएर आँखा दानबारे जनचेतना फैलाउन खालका कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । सन् २०१९ मा अस्पताललाई पाँच जना व्यक्तिबाट १० वटा आँखाको नानी प्राप्त भएको प्रबन्धक प्रिठुले जानकारी दिए। विराटनगर महानगरपालिकास्थित पुरानो अस्पताल रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका डा भाष्कर झाले बन्दाबन्दीयता बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिए । उनका अनुसार आँखाको उपचारका लागि अस्पतालमा अहिले दैनिक तीन सयको हराहरीमा बिरामी आउने गरेका छन् । तीमध्ये अधिकांश मोरङ, सुनसरी र भारतका राससले लेखेकाे छ ।

अहिले स–साना बालबालिकामा आँखाको समस्या दिन प्रतिदिन बढ्दै गएको डा झाको भनाइ छ । बच्चाहरुमा अहिले आँखा चिलाउने, टाउको दुख्ने समस्या बढ्दै जानु र चस्मा अनिवार्य नै भइरहेको बताउँदै उनले बच्चाहरुले धेरै मोबाइल हेर्नु, नजिकबाट टिभी हेर्नु नै ठूलो समस्या रहेको र यस्तो कुरामा परिवारले धेरै ध्यान दिनुपर्ने बताए । गोल्छा अस्पतालमा धेरैजसो बिरामी मोतिविन्दु र जलविन्दुको उपचारका लागि आउने गरेका छन् ।