अस्थायी मोटरेबल पुल निर्माण

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



लमजुङ, २८ पुस । स्थानीयले मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विशेष सक्रियतामा पुल निर्माण भएको हो ।

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र्याउन सकिने बताए ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ । यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेकोछ ।”

केही समयका लागि भएपनि पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ । पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ ।

पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।