पोखराको पर्यटनमा ऊर्जा थप्न माघ २३ देखि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता

-


     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ पुस । बाह्रखरी मिडिया प्रालिको आयोजनामा माघ २३ देखि २५ सम्म पोखरामा ‘एनसेल बाह्रखरी गल्फ प्रतियोगिता’ हुने भएको छ । कोरोनाका कारण थलिएको पोखराको पर्यटन व्यवसाय प्रवद्र्धनमा सघाउन चौथो संस्करणको सो प्रतियोगिता यसपालि पोखराको हिमालय गल्फ कोर्समा ल्याएको आयोजकले पत्रकार सम्मेलन गरी जनायो ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले कोभिडले पोखराको पर्यटन निकै समस्यामा परेकोले त्यसलाई केही भए पनि टेवा दिने हिसाबले र यहाँको पर्यटन चलायमान बनाउन पोखरामा गल्फ प्रतियोगिता गर्न लागिएको जनाए ।

उनका अनुसार प्रतियोगितामा ७२ जना गल्फरले भाग लिनेछन् । कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका अलराउन्ड विजयीले साढे १ तोलाको सुनको गल्फ बल पुरस्कार प्राप्त गर्नेछ भने फस्ट रनरअप, महिलातर्फ विजेता र उपविजेतालाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने बाह्रखरी मिडिया प्रालिका प्रबन्ध सम्पादक राजेश केसीले जानकारी दिए ।


प्रतियोगिता अवसरमा माघ २३ मा हल्ल्नचोकदेखि हिमालयन गल्फ कोर्स मझेरीपाटनसम्म साइकल र्‍याली गरिनेछ । आयोजकले गल्फरसहित २ सय बढी पाहुनालाई आफ्नै खर्चमा हेलिकोप्टर्समार्फत दृश्यावलोकन, अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, वञ्जी जम्प, र्‍याफ्टिङ, डुंगा सयरको व्यवस्था गरेको जनाएको छ ।

बाह्रखरीले यसअघिका संस्करण गोकर्ण गल्फमा सम्पन्न गरेकोमा तेस्रो संस्करण विश्वकै अग्लो स्थान कोङदे (४२५० मि.उचाइ) मा गरेर चर्चा कमाएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक एनसेल हो भने डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेस्टमेन्ट बैंक लि. काल्र्सवर्ग, सिभास रिगल, हुन्डाई मोटर्स र आईएमई प्रायोजक छन् ।

होटल ग्राण्डमा आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य गोकर्ण गल्फका अध्यक्ष सुजित घिमिरे, निर्देशक दीपक आचार्य, हिमालय गल्फ कोर्सका निर्देशक किरण केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई लगायतले खेलले पोखराको पर्यटन प्रवद्र्धन हुने बताए ।