
काठमाडौं, १ माघ । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्रयाएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई द्रुतगतिमा अघि बढाइएको छ ।
यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ । महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने छ ।
औपचारिकरूपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । गत मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढेको जनाइएको छ। महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।
कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरबाट महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकबाट बालुवाटारसम्म र त्रिभुवन विमानस्थलबाट हायात होटलसम्मको सडकखण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करिब ६० किलोमिटर सडकखण्डमा करिब एक हजार ७५० बत्ती जडान गर्ने तयारी भएको थापाले जानकारी दिए ।
पहिलो चरणमा करिब रु ११ करोड लागत लाग्ने अनुमान गरिएको छ । चालु आवमा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजन हुनेछ । यस क्रममा नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्नेछ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




