आजबाट अमेरिका ४६ औं पृष्ठमा, ४५ औं पृष्ठको कालो दाग

-



     मनाेज अधिकारी    
     माघ ८ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले आज पदभार ग्रहण गर्दैछन् । क्यापिटल हिलमा सपथ ग्रहण समारोहपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन् ।

उनले आजै करिब १५ वटा कार्यकारी आदेश जारी गर्ने अपेक्षा छ । जसमा धेरैजसो डोनाल्ड ट्रम्पका गलत नीति र आदेशहरु उल्ट्याउने छन् । जसमा कोरोना महामारीका कारण सृजित समस्यालाई सम्बोधन गर्नेदेखि खोपको तीब्र वितरण पार्नेसम्म र करको दर परिवर्तनदेखि आप्रबासी नीति र जलवायु परिवर्तनसम्मका आदेश पर्ने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

डेलावर राज्यबाट झण्डै पाँच दशकदेखि सिनेटर रहेका बाइडेन यसअघि बाराक ओबामा राष्ट्रपति हुँदा दुई कार्यकाल उपराष्ट्रपति थिए । असल आचरण र कुशल प्रशासकका रुपमा स्थापित बाइडेनको कार्यकालमा अमेरिकाले सुखद् भविष्यको मार्ग प्रसस्त गर्ने आम अपेक्षा छ ।

कुनै बेला अमेरिकी सिनेटमै सबैभन्दा कान्छो सिनेटरको रेकर्ड बनाएका बाइडेन अहिले अमेरिकी इतिहासमै सबैभन्दा जेठो राष्ट्रपतिका रुपमा सत्ताको नेतृत्वमा पुगेका छन् । उनी ७८ वर्षका छन् ।

आजै अमेरिकाले पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसको उदय देख्नेछ । क्यालिफोर्निया राज्यकी सिनेटर (गत सोमबार सोमबार राजीनामा दिएकी) ह्यारिस जमैकन बाबु र इण्डियन आमाकी सन्तान हुन् ।

अफ्रिकन एशिएन महिलाको पहिचान पाएकी कमला ह्यारिसमा सिंगो अमेरिकाले भावी महिला राष्ट्रपतिको सम्भावना समेत देखेको छ । आगामी दिनमा उनको कार्यशैली र कुशलताबाट यसको दिशानिर्देश हुनेछ ।