श्रीलङ्काद्वारा कोभिडका कारण बन्द भएका सीमा सबै देशका लागि खुला

-



     सफल आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित



कोलम्बो, ९ माघ । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको त्यहाँको पर्यटन मन्त्रालयले बिहीबार जानकारी गराएको छ । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।

यस अघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो । श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलङ्काली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलङ्काले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिए ।

श्रीलङ्काको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलङ्काली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिए । उनले होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिए । आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उनले श्रीलङ्काको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए ।

तर प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताए । उनका अनुसार हरेक दिन कम्तीमा पनि २ हजार ५०० जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ ।