कोरोना विरुद्धको खोपको प्रतीक्षामा गण्डकी

-



     सफल आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित



पोखरा, ११ माघ । भारत सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको खोप आज पोखरा ल्याइँदैछ । सोको आवश्यक तयारीका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमातहतका स्वास्थ्य निकायको बैठक बसेको छ ।

‘कोभिसिल्ड’ नामक खोप पोखरा आइसकेपछि कुन क्षेत्रका व्यक्तिलाई कसरी लगाउने भन्नेबारे स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण पनि आजैबाट दिन थालिएको जनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्माका अनुसार खोप वितरण प्रभावकारी बनाउन र आवश्यक तयारी गर्न आन्तरिक छलफल भइरहेको छ ।

यसअघि भारतबाट ल्याएको खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको थियो । प्रदेशस्तरमा खोप वितरण सँगै अब जिल्ला अस्पतालले के कति परिणाममा पाउँछन् भन्ने यकिन भैसकेको छैन । यहाँ आइसकेपछि भोलिदेखि नै जिल्लास्तरमा पठाउने तयारी हुने बताइएको छ । गण्डकी प्रदेशमा ४५ हजार डोज खोप आउने प्रारम्भिक अनुमान रहेको बताइयो । केही जिल्लामा भण्डारण भएको कारण कसरी सहजीकरण गरिने भन्नेबारे बैठकले तय गर्ने बताइएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले खोप जिल्ला स्वास्थ्य कार्यालय कास्कीको खोप भण्डार गृहमा राखिने जनाए ।

गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकिएको छ भने उनीसँगै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन श्रेष्ठ पनि सहभागी हुने छन् ।

उक्त खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई लगाइने तयारी छ ।

खोपको प्रभावकारीता ७० प्रतिशतसम्म रहेको छ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको ४ हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्यकर्मी बताउँछन् ।