मुग्लिन–पोखरा पूर्वी खण्ड सडक ६ अर्ब २१ करोड लागतमा बन्ने, कसले पाउँदैछ ठेक्का ?

- डेढ लेनको याे सडक चार लेनमा विस्तार हुँदै

-



     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ माघ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार प्रकिया अघि बढेको छ । मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्ड विस्तारको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले पाउने भएको छ । कम्पनीले सबैभन्दा कम ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ कबोल गरेर ठेक्का पाउन लागेको हो । सडक विभाग र चिनियाँ कम्पनीबीच सडक निर्माणका लागि ठेक्का सम्झौता भने भइनसकेको मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले सफल आवाजलाई जानकारी दिए ।

यही माघ १४ गतेसम्म निर्माण व्यवसायीलाई प्रर्फमेन्स ग्यारेन्टी जम्मा गर्ने म्याद दिइएकाे छ । कम्पनीले प्रर्फमेन्स ग्यारेन्टी बुझाएपछि सम्झौताका लागि प्रक्रिया अघि बढाइने सुवेदीले बताए । यो आबुखैरनी–जामुने खण्ड हो । यसको लम्बाई ४१.४५ किमिमा छ । ‘निर्माण व्यवसायीले ठेक्का सम्झौता भएको साढे तीन वर्षमा सडक निर्माण गर्नुपर्छ । सडक निर्माण भई हस्तारन्तरण भएको पाँच वर्षसम्म निर्माण व्यवसायीले नै मर्मत सम्भार गर्नुपर्छ।’ यस्तो व्यवस्थाका कारण सडक गुणस्तरिय बन्ने सुवेदीको दाबी छ ।

मुग्लिन–पोखराको दुरी करिब ९३ किमि छ । पहिलो चरणमा सडक विभाग आयोजना निर्देशनालय एडीबीले आबुखैरेनी–पोखरा सडक खण्ड ८६.८ किलोमिटरको ठेक्का निकालेको हो । पश्चिम खण्ड ४३.५ किमिको पनि ठेक्का आह्वान भइसकेको छ । अन्तिम चरणमा मूल्यांकन भइरहेको छ । मुग्लिन–आबुखैरनी खण्ड करिब ७ किमिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ । निर्देशनालयले एडीबीको सहुलियत ऋणमा मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्न लागेकाे हाे ।

हाल डेढ लेनको ९३ किलोमिटर याे सडकलाई चार लेनमा विस्तार गरिनेछ । निर्देशनालयले उक्त सडकलाई दुई चरणमा विस्तार गर्दैछ । पहिलो चरणमा आबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आबुखैरेनी विस्तार गरिनेछ। मुग्लिन–आबुखैरेनी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने क्रममा छ । यस खण्डमा ६७ मेगावट क्षमताको मस्याङदी जलविद्युत् गृह छ । सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो ।

जलविद्युत् गृहलाई सुरक्षित राख्न निर्देशनालयले मस्याङदी नदीको अर्को किनारबाट सडक विस्तार गर्ने गरी डीपीआर तयार पारिरहेको जनाएकाे छ । रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्ले २०७५ चैतमा स्वीकृति समेत प्रदान गरेको बताइएकाे छ । डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले प्राप्त गरेको छ । आबुखैरेनी–मुग्लिन खण्डको डीपीआर पनि एमएमएम ग्रुपले पूरा गरेको हो ।

पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिने डीपीआरमा उल्लेख छ । घनावस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७-७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर लामो हुन्छ । मुख्य सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ ।

सडकको दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुनेछ। ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ । पैदल यात्रुका लागि एक -एक मिटरको फुटपाथ रहनेछ। सर्भिस लेन र मुख्य सडक छुट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ । खुला ठाउँ र पहाडी वस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सभिर्स लेन र ढल निर्माण गर्नुनपर्ने भएकाले सडकको चौंडा सानो हुनेगरी डिजाइन गरिएको सडक निर्देशनालयले जनाएको छ ।