बुधबारदेखि गण्डकीका ११ वटै जिल्लामा काेराेना विरूद्धकाे खोप लगाइने

-



     सफल आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित



पाेखरा, १४ माघ । बुधबारदेखि गण्डकी प्रदेशका ११ वटै जिल्लामा काेराेना विरूद्धकाे खोप लगाइने भएकाे छ । भारत सरकारले अनुदानमा पठाएकाे काेभिसिल्ड ‘कोभिसिल्ड’ खोप लगाउन शुरु गरिने भएको हाे । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मंगलबार साँझ पोखरामा पत्रकार सम्मेलन गरेर खाेप अभियान बारे जानकारी दिएकाे हाे ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा भएकाे पत्रकार सम्मेलनमा प्रदेशका सबै जिल्लामा खोप सामग्री गइकेकाेको र बुधबार देखी माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन बताएको छ । मुख्यमन्त्री गुरुङले खोप कार्र्यक्रमको शुभारम्भ गर्ने र सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम शुरु हुने मन्त्रालयले जनाएको छ ।

प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप लगाइने सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताइन । उनका अनुसार यही माघ ११ गते गण्डकी प्रदेशका लागि ३९ हजार १३९ मात्रा भ्याक्सिन प्राप्त भएको र प्रदेश तह र जिल्लास्तरमा भण्डारण, ढुवानी र वितरणको योजना तयार गरिसकिएको छ ।

पहिलो मात्राको खोप दिएको एक महिनापछि अर्को मात्रा लगाइनेछ । पहिलो चरणको खोप कास्कीमा पाँच हजार ६७१, गोरखामा एक हजार ८०८, बाग्लुङमा एक हजार ७७०, लमजुङमा एक हजार ५८२, तनहुँमा एक हजार ६९९, स्याङ्जामा एक हजार ५४१, नवलपुरमा एक हजार ५२, पर्वतमा एक हजार २३९, म्याग्दीमा ८४३, मुस्ताङमा २१९ र मनाङमा २०६ जना अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

खोप प्राप्त भएपछि उच्चस्तरीय समन्वयतात्मक बैठक बसेर खोप कार्यक्रम सञ्चालन र परिचालन योजना, खोप ढुवानी र प्रादेशिक परिचालन टोली निर्धारण, खोप केन्द्र पहिचान र निर्धारण तथा जिल्ला र खोप केन्द्रलाई तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी शहर पोखरामा खोप लगाउने जनशक्तिको सङ्ख्या बढी रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पलाल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुआत गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

खोप कार्यक्रमका लागि प्रदेशबाट हरेक जिल्लामा विज्ञ टोलीको सहभागिता रहने र खोपको अवाञ्चिछत घटना भएमा प्राथमिक उपचार जिल्लामा गरिने भएकाे छ । जटिल अवस्था भएमा प्रदेशस्थित ‘रिफरल’ अस्पतालमा पठाइने योजना सरकारको रहेकाछ । गण्डकीमा हालसम्म एक लाख २५ हजार ४९७ जनाको कोरोना परीक्षण भएकामा १५ हजार ३३७ जना सङ्क्रमित भएको र १४ हजार ६७१ जना उपचारपछि निको भएको बताइन्छ । हाल यस प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या ४६४ रहेको निर्देशनालयले जनाएको छ ।