
काठमाडौैं, १४ माघ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ नाराका साथ मुलुकभर बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । नेपालमा कोभिड–१९ को सङक्रमण देखिएको १ वर्षपछि नेपालीले खोप पाएका हुन् ।
पहिलो चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरे । शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ ।
प्रधानमन्त्री ओलीले खरीद गरेरै भए पनि ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताए । त्यसका लागि बजेट तर्जुमा भएको उनले उद्घोष गरे ।
यस्तै ७७ जिल्लाका ३ सय खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ । ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए ।
कोरोनाविरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री ओलीले खोपले नागरिकको प्रतिरोध क्षमता बढोस् भनी कामना गरे । उनले खोप खेर जान नहुनेमा पनि जोड दिए।
अहिले प्राप्त खोप अपुग हुने भएकाले अन्य देश र अन्तरराष्ट्रिय संस्थासँग खोपका लागि समन्वय भइरहेको जानकारी दिँदै भारत सरकारसँग उचित मूल्यमा थप खोप ल्याउने विषयमा कुराकानी भइरहेको उनले बताए । ओलीले शुरुमा एक ठाउँमा पनि परीक्षणस्थल नभएकामा अहिले ८२ स्थानमा २५ हजारभन्दा बढीलाई दैनिक सेवा दिन सक्ने बन्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले नेपालीमा रोगसँग लड्ने क्षमता उच्च रहेकाले नै मृत्युदर कम भएको जिकिर गरे । नेपालमा हाल शून्य दशमलव ७ प्रतिशत मृत्युदर छ । निको हुने दर भने ९८ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १२ हजार नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिए । उनले पहिलो चरणको अभियान १० दिनसम्म जारी रहने बताउँदै २८ दिनपछि खोपको दोस्रो मात्रा लगाइने जानकारी गराए ।
नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोरोना देखिएको थियो । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा खोप नेपाल आएको हो ।
पहिलो चरणमा नेपालमा चार लाख ३० हजारलाई खोप प्रदान गरिनेछ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




