
काठमाडौं, १५ माघ । काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने भनिएको काठमाडौं–तराई द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ । नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको ४ वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो । सेनाका अनुसार हालसम्म भौतिक प्रगति ११.११ प्रतिशत छ । वित्तीयतर्फ ९.५२ प्रतिशत छ ।
आयोजनामा पुस मसान्तसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्ग निर्माण गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । चालू आर्थिक वर्षमा द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
२०७६ भदौमा मन्त्रिपरिषद्ले डीपीआर स्वीकृत गरेसँगै सडक निर्माणले गति लिन सुरु गरेको सेनाका सूचना अधिकारी सन्तोषवल्लभ पौडेलले बताए ।
‘अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न समय लाग्यो । कोभिड–१९ को कारणले निर्माणस्थलमा निर्माण सामग्रीको अभाव रह्यो’, पौडेलले भने, ‘डिजाइनको अभाव र विपरीत परिस्थितिका कारण निर्माणमा ढिलाइ भयो ।’ द्रुतमार्ग आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरिभिजनको जिम्मा पाएको एमएस योसिन इन्जिनियरिङ कर्पोरेसन छनोट भइसेकेको छ । योसिनले जटिल पाटाेको रुपमा रहेको सुरुङमार्ग निर्माण गर्ने कम्पनी छनोट गर्न आवश्यक पर्ने टेन्डर डकुमेन्ट तयार गरी सेनालाई हस्तान्तरण गरिसकेको बताएकाे छ ।
‘सेनाले पनि उक्त बोलपत्र डकुमेन्ट स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरिसकेको छ। कार्यालयबाट स्वीकृत भएर आएको २ दिन भित्रमा बोलपत्र आह्वान गर्ने तयारी छ’, पौड्यालले भने, ‘यो अन्तर्राष्ट्रिय बोलपत्र हो।’

अन्तर्राष्ट्रिय बोलपत्र भएकाले सुरुङमार्ग निर्माण गर्न इच्छुक निर्माण व्यवसायीले आवदेन दिनका लागि सार्वजनिक सूचना जारी भएको मितिदेखि ४५ दिनको समय पाउनेछन्। तोकिएको मितिभित्र प्राप्त भएको आवेदनलाई एकदेखि डेढ महिनाभित्रमा मूल्यांकन सम्पन्न गरी सुरुङमार्ग निर्माण गर्ने निर्माण व्यवसायी छनोट गर्ने सेनाको योजना रहेको पौड्यालले जानकारी दिए।
लक्ष्यअनुसार प्रगति हासिल भएमा २०७८ वैशाखभित्रमा निर्माण व्यवसायीसँग सम्झौता गरी सुरुङमार्ग निर्माण प्रक्रिया थालनी गरिने उनको भनाइ छ । द्रुतमार्गले काठमाडौं तराईको दूूरी ७२.५ किमिमा सीमित गर्नेछ। यो आयोजनामा ६.४१ किमिको तीनवटा सुरुङमार्ग, विभिन्न पुलले १०.५९ किमि सडक ओगट्नेछ। द्रुतमार्ग निर्माण प्रक्रियामा जटिल पाटोको रूपमा सुरुङमार्गलाई नै लिएको छ। सेनाले आव २०८०- ०८१ भित्रमा द्रुतमार्ग निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य राखेको जनाएकाे छ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




