मूर्तिकार बराल, जसले ५० जिल्लामा विभिन्न व्यक्तिको शालिक बनाए

-



     रवीन्द्र माकाजू    
     माघ १६ गते २०७७ मा प्रकाशित



पोखराका चोकचोकमा जति पनि ठूला मूर्ति छन, शालिक छन् त्यो निर्माण गर्ने वरिष्ठ कलाकार हुन् – विष्णुप्रसाद वराल । लामो समयदेखि प्रशिद्ध मूर्तिकारका रुपमा परिचित छन् बराल । उनले बनाएका प्रमुख शालिक तथा मूर्तिमा पोखराको विपीचोकमा अवस्थित विपी कोइराला, पृथ्वीचोकमा अवस्थित लखन थापाको शालिक हरिचोकमा स्थापित शहिद हरिप्रसाद गुरुङ्ग, महेन्द्रपुलमा स्थापित शहिद भीमसेन दाहाल, भद्रकाली क्याम्पसमा अवस्थित टेकबहादुर ढेवाजू, कृष्णबहादुर ढेवाजू, तनहूँ दुलेगौडाको विपी कोइरालाको शालिक प्रमुख छन् । यस्का अलावा उनले ५० जिल्लामा प्रमुख व्यक्तिहरुको शालिकको निर्माण गरेका छन् ।

वि.स. २००१ साल श्रावण २ गते सोमवार पोखराको आर्वामा जन्मिएका विष्णुप्रसादले पोखराको भद्रकाली स्कुलमा अक्षराम्भ गरेका थिए । उनका बावु लक्ष्मीनारायण हुन् भने माता सावित्री देवी । ०९ सालमा उनले आफनै गाँउ आर्वामा खुलेको स्कुलमा भर्ना भए । ०१४ सालमा आर्वा कै रतन पाण्डे स्कुलमा १० कक्षा पास गरे । उनका सहपाठी हुन् – प्रशिद्ध कलाकार दुर्गा बराल । दुर्गा सानै देखि चित्र कोर्दथे ।

दुर्गाले चित्र कोरेको देखेर विष्णु बराललाई लाग्दथ्यो – म पनि यस्तै चित्रकार हुन पाए हुन्थ्यो ।०१६ सालमा साथीहरुसँग विष्णु बराल लाहुरे बन्ने सपना बोकेर घरबाट भागेर भारतको गोरखपुर पुगे । तर छाति नाप्दा उनी लाहुरे बन्न योग्य भएनन् । घर फर्कनु पर्ने अवस्था आयो साथमा दुई रुपैया मात्र थियो । उनले सोचे – अहिले म घर फर्कनुभन्दा यही बसेर शीप सिक्छु ।

उनी त्यहाँबाट भारतको राजधानी दिल्ली पुगे । त्यहाँ आफन्तको डेरामा पुगेर सबै वृतान्त सुनाए । केही समय मासिक एक सय तलव खाने गरि रेल वे मा जागिर खाए । त्यसपछि न्यू शर्मा आर्ट स्टुडियोमा काम सिके । केही समय इलाहावादमा २२ दिन काम गरेर ३००० जम्मा गरे ।

केही समय पछि उनलाई लाग्यो – विदेशमा बस्नुभन्दा आफनै देशमा केही गरुँ । त्यहाँबाट उनी रंग, बुरुस बोकेर पोखरा हानिए । नभन्दै उनी पोखरा फर्किएर खेमनारायण श्रेष्ठ सँग सल्लाह मागे – म कुन ठाँउमा बसम ? उनले तेर्सापट्टीमा बसेर काम गर्ने आग्रह गरकाले पेन्टीगं सर्भिस पेशा शुरु गरे । तर पोखरा स्थापित शहर बनिसकेको थिएन ।

रंगरोगनका सामान किन्न गोरखपुर पुग्नु पर्दथ्यो । निकै असहज अवस्था थियो । ०२२ सालमा ढुगां काटेर तत्कालीन राजा महेन्द्रको शालिक बनाए । राजा महेन्द्रलाई यस कुराको कसैले जानकारी गराए छन् । राजा महेन्द्र पोखराको भ्रमणमा आउँदा उक्त शालिक देखेर प्रभावित भए । कसैले बराललाई सुनाए – राजा महेन्द्रले तपाईलाई बक्सिस पठाएका छन् । नेपाल राष्ट्र बैंकमा गएर मेनेजरलाई भेट्नुहोस् ।

हर्षित बराल – भोलिपल्ट नेपाल राष्ट्र बैंक पार्टी पुगेर हाकिम टेकनाथ बराललाई भेटे । टेकनाथले कागजको एक खोस्तो देखाएर भनेर – म यो रकम माटोमा गाड्छु भोलि विहान मेरो घर मासबार आउनु । कलाकार बराल भोलिपल्ट मासबार पुगे । त्यहाँ एक जना जग्गाधनी पनि आएका रहेछन् । उनीसँग हातका दुई सयका दरले १५ हात जग्गा किन्ने प्रस्ताव राख्दै टेकनाथले विष्णुप्रसादलाई भने – राजाले दिएको पैसा जग्गामा हाल । तिम्रो भविष्य उज्वल हुन्छ । त्यो पैसाले बरालले नेपाल राष्ट्र बैकं चोकमा घडेरीमा किने । जुन घरमा अहिले बरालका परिबार बस्दछन् ।

२०२४ सालमा पृथ्वी नारायण कलेजमा विज्ञान भवनको उद्घाटनको अवसरमा आयोजित प्रर्दशनीमा कलाकार बरालले पृथ्वीनारायण शाहको शालिक राखेका थिए । प्रर्दशनी हेर्न तत्कालीन राजा महेन्द्रको सवारी भएको थियो । कलाकार बरालले राजालाई आफूले बनाएको मूर्ति भनेर चिनाए । तेही क्रममा योगी नरहरिनाथ र गंगाधर शास्त्री पराजुली सँग भेट भयो । योगीले – यो मूर्ति तपाईँले बनाएको हो भन्दै धाप मारे । तपाईँ सिद्ध कलाकार बन्न सक्नुहुन्छ । आज मैले तपाईँलाई शिल्पशिरोमणी उपनाम राखिदिएँ भने ।

२०३८ साल सम्म कलाकार बरालले पोखरा बसेर कलाकारिता गर्दै थिए । त्यस पछि राजनैतिकआन्दोलनमा लागे । कलाकारिता छाडेर ठेक्कापट्टा गरे । एलमुनियम उद्योग खोले तर सोचे अनुरुप सफल भने भएनन् । केही ऋण लाग्यो । ऋण तिर्न उनी जर्मनी पुगे । करीव २ वर्ष जर्मनी बसेर भने जस्तै पैसा कमाए । बैंकको ऋण तिरेर ८÷१० लाख वचत पनि गरे । संयोगबस बरालको राष्ट्रगुरु योगी नरहरिनाथ सँग भयो । त्यस बेला दांगमा संस्कृत विश्वविद्यालय खोलिएको थियो । त्यहाँ शिलाशील्प विषय राखिएको थियो । त्यहाँ उनलाई आमन्त्रण गरियो ।

०५२ सालमा योगी नरहरिनाथ सँग कलाकार बरालको तेस्रो भेट भयो । योगीजीले चिनि हाले । बरालजी तपाई वैदाम पोखराका हुनुहुन्छ होइन ? तिमी शिल्पी शिरोमणि, एवं नेपालका आधुनिक अरनिको हौं । वरिष्ठ कलाकार विष्णु बराल अहिले पाटनको प्रयाग पोखरीमा बस्दछन् । उनको प्रमुख काम शालिक निर्माण गर्ने हो । राम्रो, कलात्मक शालिक निर्माण गर्नुप¥यो भने पारखीहरु विष्णुप्रसाद वराललाई नै खोज्छन्, रोज्छन् ।

बराल अहिले वृहत आध्यात्मिक परिषदमा राष्ट्रिय उपाध्यक्ष भएर ज्ञान र ध्यान साधनामा सक्रिय छन् । उनी ०५५ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित पनि भए । उनी प्रवल जनसेवा श्री पदमबाट विभूषित छन् । उनका श्रीमती इन्दिरा बराल पराजुली हुन् भने उनका दुई सुपुत्र सन्दिप र प्रदिप हुन् भने ४ सुपुत्री छन् । श्रीमती इन्दिरा बराल लायन्स क्लवमा आवद्ध छन् । उनी पोखराका एक प्रतिष्ठित समाजसेवी हुन् । बरालका विभिन्न पत्रपत्रिका एवं स्मारिकामा लेख रचनाहरु प्रकाशित भएका छन् । बरालले भारत, जर्मनी, चिन, अमेरिका, भुटान आदि देश भ्रमण गरेका छन् ।