
चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन । उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरे ।
सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराए । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो ।
शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ ।
सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो । टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिए ।
सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ । सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ । त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिनुभयो । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ ।
पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ । यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो । यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन् । बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन् । भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो । यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन् ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




