गाँउको विकासमा रमाउने मेजर साहेब

-


     रवीन्द्र माकाजू    
     माघ २८ गते २०७७ मा प्रकाशित


मेजर दिलबहादुर गुरुङलाई पोखरा बगालेटोल स्थीत घरमा भेट्न जाँदा जहिले पनि परिवारबाट एउटै उत्तर आउँछ– मेजर साहेब गाउँमा जानुभएको छ । ८१ बर्ष टेकेका मेजर साहेब गाउँमा किन जानुहुन्छ भन्ने प्रश्नमा उनी भन्दछन्– किन किन गाउँमा आउँदा बेग्लै आनन्दको अनुभुति हुन्छ । जहाँ मेरो बाल्यकाल वित्यो । म जन्मेको गाउँ गलेम अत्यन्त दुर्गम मानिन्थ्यो तर अहिले गाउँसम्म मोटरबाटो पुगेको छ । सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिको अध्यक्षका नाताले जबसम्म यो बाटो पूरा हुन्न, तबसम्म गाउँमा नै गइरहन्छु ।

मेजर साहेबले सहर्ष आफ्नो मनको कुरा पोख्दै भने– कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल पञ्चासे पर्यटकीय दृष्टिले मात्र नभई धार्मिक, सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ । करिब ८० मिटर देखि २५१७ मिटर सम्मको उचाईमा रहेको पञ्चासेधाम पुग्ने यो छोटो बाटो भएकाले हामी यस बाटो निर्माणमा जुटेका छौं ।

हरेक विकास निर्माण कार्यमा विदेशीको मात्रै मुख ताक्नु पक्कै राम्रो होइन भन्दै मेजर साहेबले भने– शुरुका दिनमा मान्छेले हाम्रो सपनालाई खेलाची ठाने तर सम्पूर्ण गाउँले यसका लागि एक ढिक्का भएर भिर बाटो बनाएपछि असंभव भन्ने केही रहेन ।

यो बाटो निर्माणका लागि गण्डकी प्रदेश सरकारले मात्र साथ दिएन, गाउँपालिका र सम्बन्धित माननीय सदस्यहरुले समेत सहयोग गरे । होस्टेमा हैँसे गरे । अनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गलेम भिरखण्डको उद्घाटन गरेको दिन मेजर दिलबहादुर गुरुङका लागि खुसीको सिमा नै भएन ।

करिब २ करोडको लगानीमा भीर ट्रयाकको उद्घाटनका दिन उपभोक्ता समितिका अध्यक्ष मेजर दिलबहादुर मात्र खुसी भएनन् सम्पूर्ण ग्रामबासी हर्षले विभोर भए । गाउँमा नाचगान चल्यो । गाउँलेको अथक मेहनत र परिश्रमका कारण डरलाग्दो भिर फोरेर बाटो बनाउन सफल भएकोमा मुख्यमंत्रीले पनि आश्चर्यचकित हुँदै भने– अब तपाईंहरूको साथमा प्रदेश सरकार पनि हुनेछ । बाँकी काम प्रदेश सरकारले जिम्मा लिनेछ । तपाईहरुले चन्दा उठाउन पर्दैन ।

सिद्धार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिका–१ सर्केटारीबाट २०५४ सालमा खन्न सुरु गरिएको सडकमार्ग अन्तर्गतको गलेम भिर मात्रै २ हजार ६ सय मिटर फराकिलो रहेको थियो । सर्केटारीबाट पञ्चासे पुग्न १७ किलोमिटरको दूरी छ ।

यो ट्रयाक खुलेपछि क्रमशः बाटोको स्तरोन्नति गरेर सार्वजनिक सवारी साधन चलाउने योजना रहेको अध्यक्ष दिलबहादुर बताउँछन् । अहिले सर्केटारीबाट एक किलोमिटर बाटो ढलान हुँदैछ अध्यक्ष गुरुङले बताए– अहिले बाटो खुलेपनि सवारी साधन नियमित रुपमा भने चल्न सकेको छैन । अझैपनि भिरको बाटो खन्ने कार्य र घुम्ती चक्लाउने कार्यमा हामी लागिपरेका छौं ।

हेर्दै डर लाग्ने ठाडो भीर । ठाडै उकालो । उपभोक्ता समितिले बाटो बनाएको भन्दा सबै छक्क पर्ने वताउँदै अध्यक्ष गुरुङले भने– निरन्तर रुपमा समिति लागि प¥यौँ र यो सम्भव हुन सक्यो । गाउँमा मोटरबाटो नपुग्नाले धेरै मान्छे शहर झरे । अहिले गाउँ रित्तो छ तर मेजर साहेव मान्छे एक दिन गाउँ फर्कनेमा आशावादी छन् ।

यसअघि मेजर गुरुङले शीतला माविको भवन बनाउँदा सर्केटारीबाट भरिया बोकाएर करिब १० किलोमिटरको दुरीबाट सामान ल्याएका दिन बिर्सन सकेका छैनन् । साह्रै कठिन र दुर्गम अवस्थाका ती पुराना दिन सम्झँदै उनी भन्छन् –अब गाउँलेका दिन फिरेको छ । अहिले हामी भीरको हलाकामा राम्रो पार्क निर्माणमा पनि जुटेका छौं ।

गाउँलेलाई आधुनिक प्रविधिबाट खेती गर्न सिकाउनु छ । गाउँको विद्यालय स्तरीय शिक्षा दिन सक्षम छ । पर्यटकलाई गाउँमा तान्ने योजना बनाउनु छ । गलेम रापु गुरुङ समितिले अमेरिकाको एउटा आदिवासी, जनजाति संस्थासँग भगिनी सम्बन्ध गाँस्ने प्रक्रिया सुरु भएको छ । उनीहरुले आधुनिक कृषि प्रणाली, इन्टरनेट सञ्चालन जस्ता क्षेत्रमा सहयोग गर्ने वचनबद्धता प्रकट गरेको अध्यक्ष गुरुङले जानकारी गराए ।

गलेमको शीतला माध्यमिक विद्यालय व्यवस्थापन समितिमा उनी अध्यक्ष भएर सेवा गरेको पनि दुई दशक पूरा भएको छ । उनको शैक्षिक एवं सामाजिक सेवाको कदर स्वरुप सम्माननीय राष्ट्रपतिले हालै उनलाई प्रबल जनसेवा पदकबाट सम्मान गरिने घोषणा समेत भएको छ ।

हालसालै उनी इटालीको रोमबाट सन् २०१८ नोभेम्भर २९ का दिन अन्तर्राष्ट्रिय स्तरको भोलियन्टियर अवार्ड प्राप्त गरेर झनै चर्चित बनेका थिए । जुन पुरस्कार पहिलो पटक एशियाको तर्फबाट उनले हात पारेका थिए । सो पुरस्कार प्राप्त भएपछि करिब दुई दर्जन संघ संस्थाले बधाई ज्ञापन गर्नुका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए ।

मेजर गुरुङले धेरै मुलुक घुमेता पनि पोखरा जत्तिको सुन्दर शहर अन्त कतै नदेखेको बताउँछन् । विशेष गरी फेवाताल, वेगनास ताल, माछापुच्छ्रे हिमाल र यहाँका प्रमुख मठमन्दिरले पोखराको महिमा बढाएको धारणा व्यक्त गर्दछन् ।

पोखरा आउने जो कोही पनि फेवातालमा डुङ्गा गरेर तालबाराही माताको दर्शन गर्ने शौभाग्य प्राप्त गर्दछन् । यसकारण यस मन्दिर क्षेत्रले धार्मिक महत्वको साथसाथै पर्यटकिय महत्वलाई बढवा दिएको छ । यसर्थ समग्र पोख्रेलीहरुले फेवाताललाई जीवन मरणको रुपमा लिएर ताललाई बचाउनुपर्ने धारणा व्यक्त गर्दछन् ।

मेजर साहब लाहुरे जीवनका बेला गाउँघर, पाखा पखेरा घुमिरहन्थे । बुढापाकाका कुरा सुन्थे । समाजका पीडालाई नजिकबाट हेरेका मेजर सापबाट गाउँलेहरू धेरै आशा राख्दथे । उनी अक्सर सुन्थे– मेजर दिलबहादुर गाउँमा आए यहाँको विद्यालय, बाटोघाटो, खानेपानी जस्ता समस्या समाधान हुन्थ्यो होला ।

यसै क्रममा उनले आफू जन्मेको गाउँ स्याङ्जाको फेदीखोला–४, गलेमको शितला माध्यमिक विद्यालयको मुहार फेरिदिए । लाग्छ अहिले कुनै शहरको भन्दा उक्त विद्यालयको अवस्था कमजोर छैन र स्थानीय जनजीवन माथि उठेको छ ।


पिता बखतवहादुर गुरुङ र आमा गौरा (कन्याकुमारी) गुरुङको कोखबाट वि.सं. १९९६ श्रावण ३२ गते गल्याङ्ग, आरुखर्क स्याङ्जामा जन्मिएका थिए– मेजर दिलबहादुर । १४ वर्षकै कलिलो उमेरमा सन् १९५३ मा अध्ययनका निम्ति हङकङ पुगेका दिल बहादुरजी अध्ययनकै दौरान १७ वर्षको उमेरमा सन् २ जनवरी १९५७ विटिश सैन्य सेवामा भर्ना भई नौ महिना रिक्रुट तालिम पछि मलेशिया जोहोबारमा २।२ गोर्खा राइफलमा नियुक्त भए । उनले हङ्गकङ्ग र मलेसियामा पढ्ने अवसर पाए । त्यस समयमा मेलशियामा कम्युनिष्ट टेरोरिष्टसँग युद्ध भइरहेको थियो ।

त्यस इमर्जेन्सीमा सन् १९६३ देखि १९६५ सम्म इन्डोनेशियासँग कन्फ्रन्टेसनमा भाग लिए । कन्फ्रन्टेसनमा राम्रो काम गरेकोले उनलाई स्पेशल प्रमोशन दिइयो । नोकरीको दौरान आफ्नो यौग्यता, दक्षता, ईमान्दारिता र वफादारिताका कारण उनी सन् १९६९ मा लेफ्टेनन् दर्जामा र सन् १९७१ मा क्याप्टेनको दर्जामा पदोन्नति भए ।

सन् १९८१ मा मार्चदेखि १९८२ मार्चसम्म बेलायतकी हजुर महारानी द्वित्तीय एलिजाबेथको क्वीन गोर्खा ओर्वुली अफिसरको जिम्मेवारी पनि सम्हाले । फलतः उनलाई हजूर महारानीबाट रोयल मेम्बर आफ दी भिक्टोरिया अर्डर पद्वी बक्स भयो ।

सन् १९८२ अक्टुबरमा मेजर पदमा पदोन्नति समेत भए । सन् १९८२ देखि १९८५ सम्म गोर्खा मेजरको जिम्मेवारी सम्हाले । आफ्नो तीन वर्षको कार्यकाल सफलतापूर्वक गरे वापत उनलाई हनरी मेजरको पदबाट सम्मानित गरियो । १ जनवरी १९८६ मा २९ वर्षको नोकरी पूरा गरेर मेजर साहेब पेन्सनमा पोखरा आए । नोकरीको दौरानमा उनले अन्य महत्वपुर्ण पदकहरू समेत पाए ।

आर्मी नोकरीको दौरान उनले मलेशिया, सिंगापुर, हङकङ, ब्रुनाइ, ब्रोनिया, क्यानडा, थाइल्याण्ड, बेलायत, जर्मनी सोलोमन आइल्याण्ड, अष्ट्रेलिया, होलेण्ड, साइप्रस, दुबई आदि देश भ्रमण गरे । पछि अमेरिका, इटली, आदि मुलुकमा पनि उनले पाईला टेके ।

पेन्सन पश्चात् उनले पुनः व्रिटिश भूपू कल्याणकारी योजनामा सन् १९८६ अप्रिल देखि सन् १९९० सम्म सुर्खेत जिल्ला वीरेन्द्रनगरमा बसेर वेलफेयर अफिसरको जिम्मेवारी सम्हाले । त्यस बेला उनले तत्कालिन भेरी, सेती र महाकाली अञ्चलका ब्रिटिस भूपूहरूको वेलफेयर हेर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरे । साथै कम्युनिटी एड (खानेपानी, झोलुङ्गे पुल, स्कुल भवन र विद्यालयको फर्निचरहरू) को लागि पनि सक्दो मद्दत गरे ।

सन् १९९० मा एरिया वेलफेयरको अफिसरबाट प्रमोसन भएर ब्रिटिस गोर्खा (पोखरा क्याम्प) ए.आर.ओ.मा आए । सन् १९९० अगष्ट देखि १९९१ अगष्टसम्म ब्रिटिस गोर्खाको लागि नयाँ रिक्रुट छनौट गर्ने जिम्मेवारी पाए । १९९१ सेप्टेम्बरदेखि १९९५ जनवरी सम्म ए.आर.ओ (वेलफेयर अफिसर) को जिम्मा सम्हाले ।

वि.सं. २०१४ फाल्गुन ९ गते खुलेको श्री शितला प्राइमरी स्कूल अहिले माध्यमिक विद्यालय बनेको छ । जसले हिरक जयन्ती मनायो । विद्यालयले स्वर्ण जयन्ती मनाउँदा अध्यक्ष मेजर दिलबहादुर गुरुङसँग विद्यालय पुग्ने अवसर पाएको थिएँ । अध्यक्ष गुरुङले अहोरात्र खटेर विद्यालयको शैक्षिक स्तर र भौतिक निर्माण देखेर अति प्रभावित भएँ ।

मानव जीवन जस्तै विद्यालयले पनि विभिन्न आरोह, अवरोह झेल्नुपरेको रहेछ । एकातिर डाँडाको पाखो अर्काेतिर ग्रामीण वस्ती । बसोबासको कमीले विद्यार्थीको सङ्ख्या बढ्न नसक्नु जस्ता चुनौतिहरू यद्यपि कायमै छ । यसलाई व्यवस्थित गर्न अध्यक्ष मेजर दिलबहादुर गुरुङको भूमिका अत्यन्त प्रशंसनीय छ ।

मेजर साहेबले विगत २२ वर्षदेखि यस विद्यालय व्यवस्थापन समितिको अध्यक्षता गरी अहोरात्र विकास निर्माणमा जुटेका छन् । उहाँकै सक्रियतामा २०५४ सालमा १२ कोठे नयाँ भवन बनेको देखिन्छ भने सरस्वती मन्दिर पनि । करिब १ करोड ३० लाख अर्थ सङ्कलन गरी त्यसको व्याजबाट शिक्षकहरूलाई तलब भत्ताको व्यवस्थापन गरिएको छ ।

विद्यालयमा कम्प्युटर राखिएको छ प्रशस्त । छात्रछात्रालाई अनेकौँ सेवा सुविधा दिइएको छ । अध्यक्ष गुरुङले विभिन्न दातृ निकाय र व्यक्तिहरूसँग सहयोग माग्दा कसैले भवन बनाइ दिए । कसैले शिक्षकको तलब व्यवस्था गरिदिए । अध्यक्ष मेजर दिलबहादुरका अनुसार स्वर्ण जयन्ती समारोहमा केही विदेशी पाहुना आएको बखत कक्षा १० सम्म चलाउन सके स्थानीय विद्यार्थीलाई अनुकूल हुने बताउँदा इटालियन मित्रहरूका तर्फबाट १ करोड १७ लाखको लागतमा केही कोठा थप गरिदियो । त्यस्तै सनराइज प्याराग्ल्याइडिङ पोखराले पनि विद्यालयकाे विकासमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्यो । विद्यालयलाई विशेष सहयोग गर्नेमा विदेशी मित्रहरुले पनि सहयोग गरे ।


मेजर साहेबले थुप्रै सम्मान–पत्र, कदर–पत्र पाएका छन् । दोसल्ला ओढ्ने क्रम अझै रोकिएको छैन । उनी असल छिमेकीसँग (गेसो) का अध्यक्ष हुन् । अनि थुप्रै संस्थामा सल्लाहकार छन् । संघ संस्थाबाट कार्यक्रममा बोलाउँछन् । भ्याइञ्जेल निम्तो मान्न मेजर साहाब कहिल्यै पछि पर्दैनन् ।
मेजर दिलबहादुरसँग सिक्नुपर्ने थुप्रै गुण छन् । ८० टेक्दा पनि अझै उनीमा जोश जाँगर मरेको छैन । जीवन संगिनी मायादेवीको स्नेह पाइरहेकै छन् ।

उनका सुपुत्रहरु देवीप्रसाद (बुहारी कल्पना) र नगेन्द्रकुमार दिपक (बुहारी लिला) हुन् भने ३ सुपुत्रीहरु मिना (ज्वाँइ ओम कुमार) छोरी तारा (ज्वाँइ प्रेमबहादुर गुरुङ), छोरी शिला (ज्वाँइ राजु गुरुङ) हुन् । उनका थुप्रै नातिनातिनाहरु छन् । डा. प्रियंका गुरुङ, प्रनव, प्रियन्सा, प्रयाग, प्रणय, ओमित (एलिजा) अनिष (सृष्टि), विधान, निरु, सुभासना र सिराज हुन् ।

उनी आफू जन्मेको स्थलका लागि केही गर्न चाहन्छन् । कसैसँग अहंकार गर्दैनन् । गाउँलेका प्रियपात्र मेजर साहेब सरल स्वभावका हुँदा कसैसंग अहंकार गर्दैनन् । जीवनलाई निरन्तर बग्ने नदीको प्रवाह ठान्दछन् । उनको परमात्मा सँग एउटै प्रार्थना छ– म जतिदिन बाँच्छु आफ्नै गाउँका लागि मातृभूमिका लागि केही सेवा गर्न सकुँ ।