उद्यम र राजनीति सँगसँगै

-



     रेविका आचार्य     
     फागुन २ गते २०७७ मा प्रकाशित



काठमाडौं । गत साल मंसिर पहिलो साता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेट (मन्त्रिपरिषद्) पुनर्गठन गरे। मन्त्रीको रुपमा काम गरिरहेका केहिको जिम्मेवारी खोसियो । प्रधानमन्त्री ओलीको क्याविनेटमा २०७६ मंसिर पहिलो साता ६ नयाँ अनुहार थपिएका थिए । शितल निवासले सार्वजनिक गरेको नयाँ मन्त्री थपिनेहरुको सूचीमा एउटा नयाँ नाम थियो, मोतिलाल दुगड ।

त्यसबेला प्रधानमन्त्री ओलीले आफ्नो क्याविनेटमा मारवाडी समुदायको प्रतिनिधित्वमात्रै गराएका थिएनन्, बिशेष याेजना सहित निजी क्षेत्रको समेत प्रतिनिधित्व गराएका थिए । यो खबर सञ्चार माध्यममा छाएसँगै सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई बधाईको ओइरो आयो । सनराइजका अध्यक्ष दुगडले त्यसदिन मोवाइल नै अफ गरेर बस्नु पर्यो भन्ने खबर पनि छापियाे । कारण उनी मन्त्री बनेका थिएनन् । प्रधानमन्त्री ओलीको क्याविनेटमा उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्रीको जिम्बेवारी पाउने मोतिलाल दुगड भने विराटनगरका पुराना उद्योगी थिए।


नाम एउटै, अनि दुबै जना उद्योगी–व्यवसायी नै भएका कारण सनराइजका अध्यक्षसम्म बधाई पुग्यो । यद्यपि, राज्यमन्त्री नियुक्त हुने मोतिलाल दुगड पनि उद्योग क्षेत्रका एक ब्राण्ड नै हुन् । उद्योग व्यवसायसँगै राजनीतिमा पनि सक्रिय रहेका उनले निजी क्षेत्रको समेत प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुने अवसर पाएका थिए।

मुलुकको सबैभन्दा शक्तिशाली दुई तिहाई बहुमतसहितको सरकारमा दुगडले उद्योगी–व्यवसायीहरुसँग जोडिने मन्त्रालयकै जिम्मेवारी पाए । अहिले उनी प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार छन् । प्रधानमन्त्री ओलीले संसद विगठनपछि उनलाई मन्त्री सरह नै सेवा सुविधा दिने गरी विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।

यसअघि यो पदमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा थिए । पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएपछि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पद रिक्त थियो । सो रिक्त ठाउँमा दुगडले अवसर पाएका हुन् ।

दुगड एक सफल व्यवसायिक घरानाका व्यक्ति हुन् । उद्योग व्यवसायमा रमाईरहेका व्यक्ति सक्रिय राजनीतिमा लागेर आज यो अवस्थामा आइपुगेका छन् । मुलुकको राजनीतिमा अब उनको भूमिका कस्तो हुन्छ ? यो विषयमा चर्चा गर्नुभन्दा पहिले दुगडको उद्योग–व्यवसायसँगै राजनीतिक यात्रा कसरी शुरु भयो त ? त्यो चर्चा गरौँ।

दुगड प्रदेश १ को विराटनगरका पुराना उद्योगी हुन् । उनी धेरै उद्योग व्यवसायसँग आबद्द रहेका छन् । विराटनगरमा जन्मिएका दुगड सन् १९८४ देखि उद्योगधन्दामा सक्रिय छन् । उनको पुर्खौली पेशा नै उद्योग व्यवसाय हो । उनका बुवा हरि सिंहले त्याे बेला नै तेल उद्योग स्थापना गरेका थिए । पछि उनी आफैंले सेञ्चुरी मसला उद्योगको स्थापना गरे । सेञ्चुरी मसला नेपालको निकै ठूलो र स्थापित ब्राण्ड हो । गुणस्तर र स्वाद दुबैका हिसाबले पनि अहिले सेञ्चुरी मसला नेपालीहरुका लागि लोकप्रीय मसलाको ब्राण्ड बनेको छ।

मसला उद्योगमात्रै होइन उनले होटल र कृषि क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् । दुगडले बिराटनगरमा चारतारे ह्यारिसन होटल पनि चलाएका छन् । यतिमात्रै होइन्, दुगडका केही उत्पादनमूलक उद्योग पनि संचालनमा छन् । लामो समय व्यापार व्यवसायमै व्यस्त रहेका दुगड करिब एक दशकदेखि राजनीतिमा सक्रिय रुपमा लागेका हुन् । तत्कालिन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको प्रेरणाले राजनीतिमा लागेको उनी बताउने गर्छन् ।

सुरुमा उनी सद्भावना पार्टीमै आवद्ध भएका थिए । सोही पार्टीबाट सभासद पनि बने । उद्योग व्यवसायमा मात्रै होइन उनी राजनीतिमा पनि निकै राम्रा नेताको रुपमा चिनिए । सद्भावना पार्टीबाट संविधान सभा सदस्य भएका दुगडको पछि नेता श्यामसुन्दर गुप्तासँग विवाद भयो । २०६४ सालमा सद्भावना पार्टीबाट दुगड सभासद् भएका थिए । २०७० सालमा उनले आफ्नाे छुट्टैे राजनीतिक दल खोले । पार्टीमा बिवाद भएपछि दुगडले सद्भावना फुटाएर आफैंले नव नेपाल निर्माण नामक नयाँ पार्टी खोलेका हुन् । तर, दोस्रो संविधानसभा निर्वाचनमा उनको पार्टीले राम्रो नतिजा ल्याउन सकेन।

उनी कम्युनिष्ट नेताहरुसँग पनि एकदमै नजिक थिए । अघिल्लो चुनावअघि उनले आफ्नो पार्टीलाई तत्कालीन नेकपा एमालेमा विलय गराएका थिए । गत प्रतिनिधि सभा चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । त्यसपछि मंसिरमा उनले उद्योग मन्त्रालयमा राज्यमन्त्रीका रुपमा प्रवेश पाएका थिए ।

उनी निजी क्षेत्रको एउटा प्रतिनिधि भएका कारण पनि सरकारमा चर्चामा नै रहे । खास गरी उनको एउटा नयाँ विचार थियो । उनले राज्य मन्त्रीको रुपमा मन्त्रालय प्रवेश गरेसँगै निजी क्षेत्र सरकारको ज्वाई भएको र निजी क्षेत्रलाई राज्यले स्वागत सत्कार गर्नु पर्ने बताए । निजी क्षेत्रलाई सरकारले रेड कार्पेटले स्वागत गर्नुपर्ने उनको भनाई थियो । अहिले पनि यो भनाइमा अडिग रहेको दुगड बताउँछन्।

प्रधानमन्त्रीले पछिल्लो पटक दिएको विशेष आर्थिक सल्लाहकारको जिम्मेवारीले दुगड निकै खुसी छन् । आफूलाई दिएको महत्वपूर्ण जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् । आफूले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको र यो मन्त्रालयमा काम गर्दा धेरै प्रशंसा पाएको भन्दै उनले यो महामारीको बेलामा मन्त्रालय र्यांकिङमा नम्वर वानमा भएको बताए ।

भिजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरेको उनको भनाई छ । भिन्न फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको र हाम्रो कामले जनतामा राहत महसुस गरेकाे उनलाइ अनुभुति भएकाे छ । निजी क्षेत्रको लागि पनि बजारमा राम्रो प्रतिक्रिया आयाे । उनले कोभिड–१९ को महामारीको समयमा बजारमा कुनै वस्तुको अभाव हुन दिएनन् । दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चुनौती रहेको सुनाए ।

पछिल्लो समय राजनीतिक माहोल अलि बिग्रेको छ । मुलुकमा औद्योगिक क्रान्तिको आवश्यकता रहेको उनी सुनाउछन् । नेपालमा औद्योगिक क्रान्ति ल्याउनुछ भने २–३ वटा कदम चाल्नुपर्ने उनको सुझाव छ । पहिलो–निजी क्षेत्रका रुग्ण उद्योगहरूलाई ‘रिभाइभ’ गर्नुपर्छ । जुन काम सुरु समेत भइसकेकाे छ ।

तयारी पोसाक उद्योगहरू धराशायी भएर बन्द छन । तिनीहरूलाई ‘रिभाइभ’ गर्ने प्रयास सुरु गरिएको छ । बजार र कच्चा पदार्थ, कुशल व्यवस्थापन र पुँजीको अभाव भएर बन्द भएका अन्य उद्योगहरू पनि छन् । ती उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भनेर त्यसका सञ्चालक र सम्बन्धित संघसंस्थासँग सरकारले छलफल गरिरहेको उनी बताउँछन् । अहिले ३०–४० वटा संस्थानमध्ये अधिकांश बन्द छन् । चलिरहेकाहरू ठूलो घाटामा छन् । यसप्रति सरकार गम्भिर हुनु जरूरी छ ।

‘यसमा मैले अध्ययन गर्दा ‘मिसम्यानेजमेन्ट’बाट यो अवस्था आएको पाएको छु । यो अब सरकारले मात्रै सञ्चालन गर्न सक्दैन भन्ने देखिएको छ’ उनी भन्छन्, ‘प्रोफेसनल म्यानेजमेन्ट हुने हो भने कुनै कम्पनी घाटामा जाँदैन, यसका लागि अब निजी क्षेत्रसँग सहकार्य गर्ने हो ।’ दुगड निजी क्षेत्रको अनुभव, भिजन र बजारका बारेमा जानकार समेत छन ।

संस्थानहरु पीपीपी मोडलमा चलाउनु पर्ने उनको धारणा छ । तर कतिपयले निजी क्षेत्रलाई पोस्नका लागि यस्तो योजना ल्याएको पनि बताउछन । तर धेरैले भने दुगडको प्रशंसा नै गरेका छन् । आफूलाई यस्तो आरोप लगाएर केही फरक नपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘निजी क्षेत्रलाई त पोस्नैपर्छ । घाटामा गएका उद्योगहरूलाई पोस्नुपरेन ? हाम्रा यत्रा उद्योगका मेसिनहरू जर्जर भइसके, श्रमिकलाई दिन पैसा छैन । अनि यसै सड्न दिने ?’ अहिले पाएको जिम्मेवारीलाइ कुशलतापूर्वक पुरा गर्नेमा उनी प्रतिवद्ध छन ।

प्रधानमन्त्रीले विश्वास गरेर पूर्व अर्थमन्त्री डा. खतिवडाको ठाउँमा राखेकाेमा उनी निकै दंग छन् । मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलाई आवश्यक सुझाव सल्लाह र हर प्रकारकाे सहयाेग गर्ने उनको बचनबद्धता छ । अबका दिनमा दुगडकाे राज्य प्रतिकाे याेगदान कस्ताे रहन्छ त्याे हेर्न भने बाँकी छ ।