
काठमाडौं, २ फागुन । तराईको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण प्रक्रिया अत्यन्त सुस्त देखिएको छ । राजमार्ग निर्माण सुरु भएको २१ वर्ष बित्दा बल्ल आधा काम सकिएको छ । हुलाकी राजमार्गले पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भू–भाग अन्तरगत तराई–मधेसका २० जिल्ला जोड्नेछ। तराई–मधेसको मेरुदण्ड मानिएको याे हुलाकी राजमार्ग विस्तारको काम ५७ प्रतिशत मात्र सम्पन्न भएको निर्देशनालयका निर्देशक रोहित बिसुरालले बताए ।
नेपालको पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिई हुलाकी राजमार्ग निर्माण सुरु गरिएको हो । हुलाकी राजमार्ग स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकिल्पक मार्गका रूपमा विकास गर्ने उद्देश्य रहेको यो आयोजना आव २०६५-६६ मा सुरु गरिएको हो । सुरुवाती समयमा भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको थियो । तत्कालिन समयमा १ लेनको सडक बनाउने गरी डिजाइन गरिएको थियो । ७ सय किलोमिटर सडकका लागि भारतले ८ अर्ब रुपैयाँ विनियोजन समेत गरेको थियो ।
तराईको बढ्दो जनसंख्यालाई यो राजमार्गले थेग्न नसक्ने देखेर नयाँ प्रक्रियाबाट निर्माण थालनी गरिएको पूर्व भौतिक सचिव तुलसी सिटौला बताउँछन् । भारतको पूर्ण सहयोगमा बनाउन खोजिएको सडकमा प्राविधिक र व्यावहारिक कठिनाइ रहेको पनि सिटौलाको भनाइ छ। ‘सडकको चौडाइ ६ मिटरको थियो। ३० मिटर जग्गा अधिग्रहण गर्ने प्रस्ताव थियो । निर्माणमा सहभागी सबै ठेकेदार भारतीय थिए’, उनी भन्छन् । उनले भने, ‘लागतभन्दा कम मूल्यमा ठेक्का हालिएको थियो । घाटा लाग्ने देखिएपछि ठेकेदार काम अलपत्र छोडेर निस्किए ।’
उक्त खण्डमा १ सय २ वटा पुल नेपाल आफैंले बनाउनुपर्ने पनि थियो । भारतले सडक विस्तारका लागि छुट्ट्याएको ८ अर्ब रुपैयाँमा अपुग रकम थप गरी नेपाल आफैं बनाउने निर्णयमा पुगेको उनी सुनाउँछन् । सरकारले हुलाकी राजमार्गलाई प्राथमिकता दिई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ। आव २०७२-७३ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय स्थापनापछि विस्तारले गति लिएको निर्देशक बिसुराल बताउँछन् ।
‘आयोजना निर्देशनालय स्थापनाअघि विस्तारको काम कछुवाको गतिमा थियो। अहिले कामको गति बढेको छ’, बिसुराल भन्छन्, ‘धेरै काम पछिल्लो पाँच वर्षमा भएका हुन् ।’ यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो। संशोधित लागत ६५ अर्ब २० करोड छ। विस्तार सम्पन्न गर्ने समय अवधि २०७९- ८० तोकिएको छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट १ करोडभन्दा धेरै जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




