सडकले जोडियो भारतको सिक्किम

-



     रवीन्द्र काफ्ले,    
     फागुन ५ गते २०७७ मा प्रकाशित



पाँचथर, ५ फागुन । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो ।

सिक्किम (भारत)ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए । नेपालले २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो । भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो ।

सिक्किमले सन् २०१९ मै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने चर्चा चले पनि निर्माणले गति लिन सकेको थिएन । भौगोलिक कठिनाइका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तार कार्यमा ढिलाइ हुँदै आएको थियो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको सरकारले सीमासम्म सडक विस्तार गर्ने तथा उत्तरे बजारलाई व्यापारिकरूपमा विकास कार्यलाई प्राथमिकता राखेअनुसार पछिल्लो पटक निकै द्रूत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीको भनाइ छ ।

विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो । सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ । उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो । पछिल्ला केही वर्षमा निकै दुर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो ।