एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

-


     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित


काठमाडौं, २३ फागुन । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका हुन् । यस्तै चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरे ।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो । यस पहल अन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ ।

धुलिखेल अस्पतालका तर्फबाट मानव संशाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढि घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम संचालनमा आएपछि स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ । स्वास्थ्य सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौं ।”

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो । ।”

टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठले भने, “यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ । स्वास्थ्य सेवामा पहुँच नभएकाहरुसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पना अनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौं ।”

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

पिएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछन र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् । पिएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरु भन्दा बाहिर समेत लाने उदेश्यका साथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।

एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।