टोपी विनाको ‘नेपाली राष्ट्रिय परिचयपत्र’

-


     इन्द्रकुमार श्रेष्ठ     
     फागुन २३ गते २०७७ मा प्रकाशित


घामपानीबाट बच्न र लाज ढाक्नका लागि कपडा लगाइन्छ । यस क्रममा पोसाक, नाम र संस्कार आ–आफ्नो होला । ढाँचा र बनावट फरक होला तर पनि शिर ढाक्ने काम संसारभरकै मानिसहरूले गर्छन्, पुरुष – महिला दुवैले । शिर वा टाउको ढाक्नु सुरक्षाका लागि पनि हो ।

त्यसैले, मौसम र आफ्नो रुचिअनुसार—भादगाउँले, ऊनी वा पाल्पाली ढाका जुन खालको लगाऊँ—टोपी नेपालीको पहिचान पनि हो । हिमाल, पहाड, तराई जहाँ रहे पनि वा हिन्दू, बौद्ध, क्रिश्चियन, मुस्लिम जे भए पनि टोपी पहिरिनुमा हामी गर्व गर्छौं ।

तर अहिले यसको महत्व भुसुक्कै भुल्न थालिएको छ । पञ्चायती कालमा नागरिकता बनाउँदा टोपी लगाएको फोटो हुनु अनिवार्य थियो । बाहिरै, ‘टोपी खै ?’ लेखिएको हुँदा, टोपी नलगाई गएको भए पनि जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्नुअघि टोपी लाउनु अनिवार्य थियो । ‘कोही टोपी नलाई आएकालाई चाहिन्छ’ भनेर त्यहाँ गेटैनेर ठोकिएको किलामा एउटा टोपी झुन्ड्याइएको हुन्थ्यो । बहुदलीय व्यवस्थासम्म पनि टोपीको महत्व उति घटेको थिएन ।

तर गणतन्त्र आएपछि भने बिस्तारै, ‘नागरिक स्वतन्त्रता’को नाममा, नेपाली पहिचान—टोपीको बेवास्ता गर्न थालियो । टोपी नलाएकै तस्बीर टाँसेर नागरिकता बनाउन पाइयो । आधुनिकताका नाममा टोपी लाउनु त कुरै छोडौं, कतिपय अवस्थामा युवाहरूले लामो बनाएर कपाल पाल्नु र युवतीहरूले कपाल छोट्याउनुलाई पो ‘राम्रो’ र ‘सभ्य’ मान्न थालियो । टोपीको नेपाली महत्व आफैं बुझ्ने कोही भएनन् । नबुझ्नेलाई बुझाइदिन खोज्ने पनि कोही देखिएनन् ।

बाहिरी संस्कार र संस्कृतिमा खालि गोपाल योञ्जनको शब्द, संगीत र स्वरको ‘मेरो टोपी कैलाशको शिरजस्तो … …’ गीतमा मात्रै टोपीको महत्व सीमित रहन थाल्यो । तैपनि, लाउनेले अझै पनि टोपी लाएकै छन् । कतिपय कर्मचारीले पोसाकमा म्याच गराउनका लागि । नाम्लोको माध्यमबाट भारी बोक्नेले सर्वसाधारणले टाउकोको सुरक्षा र सहजताका लागि । अनि कतिले नेपाली भएकोमा मनैदेखि गर्वानुभूतिका साथ पनि ।

यद्यपि टोपी लाउनेभन्दा नलाउनेकै सङ्ख्या बढेर आयो । अनि टोपी नलाए पनि ‘यो लाउनुपर्छ’ भन्ने महसुसचाहिं कता कता भएरै होला, अङ्गे्रजी नयाँ वर्षलाई ‘टोपी दिवस’का रूपमा मनाउने चलन चलाइयो । अरू दिन नलाए पनि त्यस दिनचाहिं दिदीबहिनीले समेत टोपी लाएको तस्बीर सामाजिक सञ्जालतिर देखिने गरेको छ । तर यो चलन खालि एकदिने औपचारिकतामा मात्र सीमित बन्न पुगेको देखिन्छ । लाउनेले टोपी दिनैदिन, नलाउनेले त्यही एकदिन ।


गत वर्षदेखि देशमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमका लागि विवरण सङ्कलन थालिएको छ । हाल त्यो कार्यक्रम २२ जिल्लामा समाप्त भएको समाचार सुनिएको छ । विवरण सङ्कलनका लागि वडा वडामा टोली आए । यो बेलामा नेपालमै बनेको भादगाउँले टोपी लाउनैपर्ने नियम बनाउन सकिएको भए साह्रै राम्रो हुन्थ्यो । त्यो नभए, जुनसुकै खालको भए पनि टोपी अनिवार्य लाउनुपर्ने नियम बनाएर टोपीको महत्व पुनःजागरण गर्न सकिएको भए पनि ज्यादै राम्रो हुन्थ्यो ।

टोपी लाउने चलन नभएकाहरूले समेत एकैछिन लाउँदा केही फरक पर्दैनथ्यो । अथवा टोपी लाउने कुरा ऐच्छिक नै बनाइएको भए पनि त तैबिसेक हुन्थ्यो । आखिर टोपीले ढाक्ने भनेको टाउको मात्रै हो, अनुहार त होइन नि ! यहाँ त कहिल्यै पनि टोपी नछोड्नेहरूले समेत, विवरण सङ्कलन केन्द्रमा गौरवानुभूतिका साथ झन राम्रो र असल टोपी लाएर गएकाहरूलाई समेत अनिवार्य रूपमा फुकाल्न लगाएर तस्बीर खिचियो । किन त्यसो गरिएको होला ?

‘माथि’ कै त्यस्तो निर्देशन थियो होला भन्ठानेर प्रश्न गर्न पनि आवश्यक ठानिएन । तर यस्तो भोग्नुपर्दाचाहिं साह्रै नरमाइलो लाग्यो । टोपी नै लाउन नदिइकन बनाइने पत्र, कसरी ‘नेपाली राष्ट्रिय परिचयपत्र’ हुँदो हो ?