
काठमाडौं, २६ फागुन । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सडकमा अहिले सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ । कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए। लुभुको बजार क्षेत्रमा ५०० मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न बाँकी छ ।
विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । गत वर्ष नै सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको उनले बताए । उनले भने, “अहिले पनि कतिपय स्थानीयवासीले जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति माग गरिरहेका छन् ।” तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ ।
सडकको चौडाइ कम भएकै कारण पैदल यात्रु मार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको उनले बताए । उपलब्ध चौडाइमा निर्माण गर्दा बजारमा पाँच मिटर चौडाइ भएको उनले बताए । उनले भने, “अरु धेरै ठाउँमा सातदेखि नौ मिटर चौडाइ भएको छ ।”
आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी र लामा÷सामानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो । गत पुस महिनासम्ममा सडकको भौतिक प्रगति ८५ प्रतिशत थियो ।
आयोजनाले उपत्यकाका नौ सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म एउटा पनि सम्पन्न भइसकेको छैन । गत आवसम्म स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अवरुद्ध थियो । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




