चीनबाट आज ८ लाख खोप र स्वास्थ्य सामग्री आउँदै

-



     सफल आवाज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १६ चैत । काेराेना विरूद्धकाे खाेप तथा सहायता सामग्री लिन आइतबार बेलुकी चीन गएकाे राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज चीनबाट खाेप ल्याएर आज राति काठमाडाैं आइपुग्ने भएकाे छ। ।

सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडाैंबाट बेइजिङ प्रस्थान गरेको हाे।

जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० वजे खाेप तथा स्वास्थ्य सामग्री बाेकेर काठमाडौंका लागि प्रस्थान गर्ने छ । राति नै ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएकाे निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन।

कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।

सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भए र सोहीअनुरुप आन्तरिक तयारी पूरा भएको निगमले उल्लेख गरेको छ । निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ ।

निगमले कोभिडविरुद्धको खोप लिन पहिलोपटक उडान गरेकाे हो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।