लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायाे मान्यता

- अब विश्वका २१० राष्ट्रमा लायन्स माफर्त नेपाली भाषाकाे प्रचार हुनेछ -पिआइडि लायन सन्जय खेतान

-


     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित


काठमाडौं, २० बैशाख । लायन्स क्लब्स् अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलाेपटक अफिसियल भाषाका रूपमा चौधौं स्थानमा मान्यता प्रदान गरेकाे छ । भाषाकाे मान्यतापछि अबदेखि लायन्स अन्तराष्ट्रीयमा नेपाली भाषा पनि अफिसियल भाषा बनेकाे छ ।

अबकाे केही समयपछि लायन्स अन्तर्राष्ट्रियकाे वेभसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने याे अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानले बताए । प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ। यस अघि अंग्रेजी र अन्य भाषामा मात्र सुन्न सकिने अवस्था थियाे ।

पूर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानकाे लामाे समयदेखिकाे अथक प्रयास र लायन्स क्लब्स् अन्तर्राष्ट्रियसँगकाे खेतानकाे सम्बन्धले पहिलाेपटक लायन्स अन्तर्राष्ट्रियमा अफिसियल भाषाका रूपमा दर्ता भएकाे हाे।

लायन्सप्रति नेपालीहरुको बढ्दाे सक्रिय सहभागिता, नेपाली लायन्सकाे सहयाेग र सहकार्यकाे उच्च मूल्यांकन गर्दै समाजसेवामा विश्वमै अग्रस्थानमा रहेको लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएको पूर्व इन्टरनेशनल डाईरेक्टर लायन ई. सन्जय खेतानले सफल आवाजलाई बताए । ई. खेतान नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै लायन्सका कुशल लिडर मानिन्छन्। उनी लायन्स अन्तर्राष्ट्रियकाे डाईरेक्टर बन्न सफल पहिलाे नेपाली लायन्स हुन् ।

पिआइडि लायन सन्जय खेतान

एलसिआईएफ एरिया लिडर तथा इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले नेपाली भाषालाई यसरी मान्यता दिनु भनेकाे हामी सम्पूर्ण नेपाली लायन्सले समाजसेवामा पुर्याएकाे याेगदानकाे कदर गरेकाे अनुभूति भएकाे बताए ।

याे सम्भव बनाउन महत्वपूर्ण भूमिका खेल्ने इ. खेतानप्रति आभार ब्यक्त गरे। उनले सफल आवाजसँग भने, “खेतानकाे कुशल नेतृत्व र अभिभावकत्वले नै नेपालमा लायन्सकाे सक्रियता बढेकाे र लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएकाे हाे ।”

बुर्लाकोटीले आफु इन्टरनेशनल डाईरेक्टरमा निर्वाचित भएमा नेपालको नाम विश्वमा चिनाउँदै नेपाली लायन्स र जनताका लागि उल्लेख्य याेगदान पुग्ने किसिमका कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले लायन्स अन्तर्राष्ट्रियबाट नेपालमा स्थायी प्रोजेक्ट ल्याउन पहल गर्ने समेत घाेषणा गरे। लायन्स लिडर बालकृष्ण बुर्लाकोटी आगामी जेठ २१ र २२ गते हुने लायन्सकाे मल्टिपल कन्भेन्सनमा डिष्ट्रीक ३२५ वि १ को तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि एकल उम्मेदवार हुन्।

एलसिआईएफ एरिया लिडर तथा इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेद्वार लायन बालकृष्ण बुर्लाकोटी

लायन्स मल्टिपल ३२५ नेपालका काउन्सिल चेयरपर्सन लायन इन्द्र खत्री ‘राजन’ ले लायन्स अन्तर्राष्ट्रियले अफिसियल भाषाका रूपमा नेपाली भाषालाई चौधौं स्थानमा मान्यता प्रदान गरेकाे खबरले लायनवादकाे यात्रामा पहिलाेपटक यति धेरै खुसीकाे अनुभूति भएकाे बताए । उनले लायन्स मार्फत २ सय १० राष्ट्रमा नेपाली भाषाकाे प्रचार हुनु गाैरवकाे विषय भएकाे बताए ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मनबहादुर राेक्काले याे सबै नेपाली लायन्सकाे सम्मान भएकाे अनुभूति भएकाे विचार ब्यक्त गर्दै लायन्स अन्तर्राष्ट्रिय बाेर्डलाई धन्यवाद दिए।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले लायन्स अन्तर्राष्ट्रियकाे वेबसाइटमा समेत नेपाली लायन्सले आफ्नै भाषामा पढ्न पाउने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने खबरले सम्पूर्ण नेपाली लायन्समा उत्साह थपेकाे बताए। उनले याे सफलताकाे श्रेय लायन लिडर, लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानलाई दिए ।

नेपाली भाषालाई पहिलाेपटक यसरी अफिसियल भाषाका रूपमा मान्यता प्रदान गरेकाेमा नेपाली लायन्सले अन्तर्राष्ट्रिय लायन्स प्रेसिडेन्ट लगायतप्रति आभार ब्यक्त गरेका छन्।