गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना

-



     सफल आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित



पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसो रिपोर्ट पोजेटिभ आएको हो।

यसअघि मंगलबार आरडिटी (र्‍यापिड डाइनोस्टिक टेस्ट) गरिएकोमा रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो ।

पोखरास्थित सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएको पुष्टि गरे ।

उनले भने, ‘माननीयज्यू हिजो (मंगलबार) अस्पताल भिजिटमा आउनुभएको थियो । कुराकानीका क्रममा टाउको दुखेको भनेपछि आरडिटी गरिएकोमा पोजेटिभ देखिएको थियो । पछि स्वाब संकलन गरी ल्याब पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।’

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।

यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।